प्रधानमन्त्री देउवाको सुदूरपश्चिम भ्रमण: पीडितसम्म पुगेनन्, १० मिनेटभन्दा बढी कतै बसेनन्

Posted on: 21 Oct, 2021

मोहन जोशी/सीपी लोहनी | कात्तिक ४, सुदूरपश्चिम प्रदेश | प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरो प्रभावित सुदूरपश्चिमका पाँचवटा जिल्लाको निरीक्षण गरेका छन् ।

३१ असोजदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिबारे बुझ्न दुई जना मन्त्रीसहित बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका थिए तर बाढीपिडितसँग भने प्रधानमन्त्री देउवाको भेट भएन ।

प्रधानमन्त्री आउने भएपछि केही आशा र केही भरोसासहित प्रतीक्षामा बसेका बाढी-पहिरोपीडित भने देउवालाई भेट्नै नपाएकामा दुखी र आक्रोशित बनेका छन् । ‘जनताका पीडा बुझ्न स्वयं प्रधानमन्त्रीज्यू आउन लागेको भन्ने खबर सुन्दा बाढी-पहिरोले दिएको दुःख भुलेर मनमा आनन्द भरिएको थियो’, बझाङको थलारा गाउँपालिकाका स्थानीय अशोक उपाध्यायले भने, ‘तर, दिनभर प्रतीक्षा गर्दा पनि उहाँ आउनुभएन । अहिले हामी निराश बनेका छौँ ।’

जनताका पीडा बुझ्ने नाममा प्रधानमन्त्रीले राज्यको ढुकुटी रित्याउने काम गरेको उनको आरोप छ । ‘जनता पीडामा छन्’, उनले भने, ‘प्रधानमन्त्री हेलिकोप्टर लगेर पीडितलाई भेट्ने बहानामा भ्रमण गर्दै हुनुहुन्छ ।सदरमुकामबाट बुझ्ने खबर उहाँले काठमाडौंबाटै पाउन सक्नु हुन्छ ।’

उनले प्रधानमन्त्रीले हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको भन्ने सुनेर हाँसो लागेको बताए । बझाङ सदरमुकाम चैनपुरमा केहीबेर बसेका देउवा पहिरोस्थल बझाङको थलारामा जाने कार्यक्रम रहे पनि प्राविधिक कारणले हेलिकोप्टर अवतरण गर्न नसक्दा फर्किएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

यसैगरी प्रधानमन्त्री देउवाले बैतडीमा पनि हेलिकोप्टरबाटै प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर प्रभावित क्षेत्र अवलोकन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका केही प्रतिनिधिसँग भेट गरेर डडेल्धुरा प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवाले करिब २० मिनेटजति स्थानीयबासीसँग भेटेको स्थानीय घनश्याम धामीले बताए ।

‘प्रधानमन्त्रीज्यूले बढीमा तीन मिनेट सम्बोधन गर्नुभयो’, उनले भने, ‘हाम्रा समस्याका विषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो ।’

उता, प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याहरूबारे ज्ञापनपत्र बुझाएका छन् । वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास- ५ ढुंगाडको करिब २०० रोपनी धान खेत बगरमा परिणत भएको छ ।पाँचवटा घर भत्किएका छन् । बाढीले गाउँ नै घेरेपछि दुई दिनसम्म स्थानीयबासीहरू टापुमा अड्किएका थिए । 


सुदूरपश्चिमको डोटीबाट सुरु भएको प्रधानमन्त्रीको भ्रमण बझाङ, बैतडी, डडेल्धरा हुँदै कंचनपुरमा टुंग्याइएको सिथो । डोटी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लामा भएको क्षतिको अवस्थाबारे दिपायलबाटै त्यहाँका जनप्रतिनिधि र स्थानीय तहका प्रतिनिधिसँग बुझेका थिए ।

डोटीबाट बझाङ गएका देउवाले जिल्ला सदरमुकाममा जिल्लाको वस्तुस्थिति बुझेका थिए । उनी बझाङको पहिरो प्रभावित क्षेत्र थलारा जान खोज्दा प्राविधिक कारणले हेलिकोप्टर अवतरण हुन नसकेपछि सोझै बैतडीको ढुंगाड गएका थिए ।

बैतडीको ढुंगाडमा सेती नदीले पारेको असरको प्रत्यक्ष अवलोकन गर्दै प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरा फर्केका थिए । स्थानीय नेता, जनप्रतिनिधिसँग डडेल्धुरामा वर्षाले पारेको क्षतिको विवरण बुझेर देउवा कंचनपुर पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले कंचनपुरस्थित महाकाली नदीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरे । पाँचवटै जिल्लाको अवस्था बुझेर प्रधानमन्त्री देउवा बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बसेका छन् । धनगढीमा देउवाले कांग्रेसका कार्यकर्तासँग भेटघाट गर्ने, बाढी-पहिरोबाट पारेको क्षतिको विवरण बुझ्ने कार्यक्रम रहेको जनाइएको छ ।

अविरल वर्षा र बाढी-पहिरोमा परेर बिहीबारसम्म सुदूरपश्चिममा ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!