वन जङ्गल संरक्षणमा सबै जुट्नुपर्छ: मन्त्री भण्डारी

Posted on: 03 Sep, 2016

भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । 

तनहुँस्थित विमलनगर सिद्धगुफा विकास समितिद्वारा आज यहाँ आयोजित स्वागत एवम् बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भण्डारीले कुल भू–भाग ओगटेको ४४ प्रतिशत वन जङ्गललाई संरक्षण र सम्बद्र्धन गर्न सबै लाग्नुपर्नेमा जोडदिदैं विकास निर्माणका काममा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । 

स्थानीय निकाय पुनःसंरचनाका लागि आयोगले सिफारिस गरेका ५६५ मा पुनःविचार गर्न आग्रहगर्दै उहाँले भन्नुभयो, “नगरपालिका र गाउँपालिकालाई सानो सङ्ख्यामा पुनःसंरचना गर्दा जनतालाई विभिन्न किसिमका असुविधा हुन सक्छन्, त्यसैले आयोगले त्यस तर्फ बेलैमा ध्यान पु¥याउनुपर्छ ।” 

मन्त्री भण्डारीले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गर्न वर्तमान सरकार कट्टिवद्ध भएर लागेको पनि बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!