राजनीतिक नेतृत्व सहि भएमा मात्रै समृद्धि संभव: डा. बाबुराम भट्टराई

Posted on: 09 Sep, 2016

वालिङ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्व सहि भएन भने मुलुकको विकास हुन नसक्ने बताउनु भएको छ । उहाँले नयाँ शक्ति पार्टी, नेपाल स्याङ्जाले शुक्रबार वालिङमा गरेको समृद्ध नेपालका लागि आर्थिक विकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, – ‘मुख्य कुरा राजनीतिक नेतृत्व हो, देशको नेृतत्वमा सहि मान्छे भएन भने विकास संभव हुँदैन । नारा लगाएर मात्र हुन्थ्यो भने पञ्चायत कालमा पनि विकासको मुल फुटाउने कुरा भएकै हो । राजा महाराजले पनि त्यही कुरा गरेकै हुन् । र, कांग्रेस एमाले माओवादी सबैले पनि भनेकै हुन् । तर विकासको उपयुक्त मोडेल अवलम्बन गर्न नसक्दा विकास संभव भएन । नारामा मात्रै सीमित भयो ।’

उहाँले नेपालको परिवेश सुहाउँदा विकासको मोडेलले मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै विश्वमा प्रचलनमा रहेको पूँजीवादी र समाजवादी दुई मोडलबाट माथि उठेको विकासको मोडेल नै नेपालको लागि वैकल्पिक मोडेल हुने बताउनुभयो । उहाँले भन्नुभयो, – ‘यो त्यस्तो विकासको मोडेल हुनेछ, जसमा नीजि स्वतन्त्रता पनि कायम रहने छ र राज्यले पनि कल्याणकारी भूमिकासहितको दायित्व निर्वाह गर्नेछ’

नेपालको आर्थिक विकास र समृद्धिका लागि साँच्चिकै यहाँको परिवेश सुहाउँदो विकासको मोडेल जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, –‘विकासका लागि छाडा पूँजीवादी मोडेल पनि होइन र नोकरशाही प्रकारको तानाशाही मोडेल पनि होइन बरु हामी दुवैबाट माथि उठेको विकासको मोडेल खोज्दैछौं ।’

विश्वमा चलेका विकासका दुई मोडेलको बारेमा चर्चा गर्दै उहाँले भन्नुभयो, ‘पूँजीवादी मोडेल व्यक्तिकेन्द्रीत हुने र त्यसमा व्यक्तिको समृद्धि भएमा समाज र मुलुकको समृद्धि हुने कल्पना गरिन्छ । परिणामतः त्यसमा केही मुठीभर व्यक्तिहरु धनी हुन्छन् र अधिकांश गरिब हुन्छन् ।’ त्यसैगरी राज्यकेन्द्रीत समाजवादी मोडेलले निरपेक्ष गरिबी घटाउन मद्दत गरे पनि त्यसले मुलुकको समष्टिगत विकास गर्न नसक्ने उहाँको जोड थियो, उहाँले भन्नुभयो, ‘अर्को समाजवादी मोडेलमा साधन र स्रोतलाई राज्यले नियन्त्रण गर्दछ र त्यसलाई गरिबका लागि राज्यले वितरण गर्नुपर्छ भन्ने मान्यता राख्छ । तर, यसरी गरिने वितरणले मात्र विकास संभव हुन सक्दैन ।’

उहाँले विश्वमा प्रचलित यिनै दुई विकासको मोडेलको बिचबाट नयाँ मोडेल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, –‘यी दुई वटा मोडेलको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बहस छ । यी दुवै मोडेलका राम्रा र नराम्रा पक्षहरु देखिए । दुवै मोडेलमा सीमाहरु देखापरे । र यसको विकल्पको रुपमा सामाजिक लोकतान्त्रिक मोडेलको रुपमा वीपीले नयाँ मोडेल अवलम्बन गर्न खोजे, तर व्यवहारमा त्यो लागु हुन सकेन र अन्ततः त्यो पनि उदारवादी मोडेलकै रुपमा परिचत बन्यो ।’ उहाँले प्रस्ट पार्नुभयो, –‘त्यसैले नयाँ मोडेलको कुरा गरेको हो जहाँ व्यक्तिको स्वत्व पनि रहन्छ र सरकारको भूमिका पनि बलियो रहन्छ’

नयाँ शक्तिले मुलुकको आर्थिक परिवर्तनका लागि विकास र समृद्धिको मार्गचित्र तयार गरेको बताउँदै उहाँले भन्नुभयो, ‘अबको विकासका लागि परनिर्भरताको अन्त्य गर्दै अन्तरनिर्भरताको विकास गर्नुपर्छ ।’ त्यस्तै विकाससँगै समृद्धिको समन्यायिक वितरण र आर्थिक असमनता घटाउनु आवश्यक रहेको पनि उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, – ‘गरिब र धनी बिचको फाटो अर्थात् आर्थिक असमानता बढ्दै गएको छ । गाउँ र सहरबीचको असमानता बढेको छ  । विभिन्न क्षेत्रबिचको असमानता बढेको छ । जातीय असमानता बढेको छ । यी वर्गीय जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य असमानता र विभेद नै नेपालको विकासको बाधक हो’ उहाँले भन्नुभयो, – ‘यी समस्याहरुको समाधान गरेमा मात्रै नेपालको विकास गर्न सकिन्छ ।’


मुलुकको आर्थिक विकासमा राज्यले पूर्वाधारजन्य क्षेत्रहरुमा लगानी बढाउनुपर्नेमा उहाँको जोड थियो । त्यस्तै दुई छिमेकी मुलुकबाट पूँजी, प्रविधि र पर्यटक भित्र्याएर मुलुकको आर्थिक विकास गर्नुपर्ने र त्यसमा राज्यले सडक, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा र सञ्चार जस्ता पूर्वाधारजन्य क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

विकासका लागि राजनीतिक स्थिरता मुख्य शर्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देशमा राजनीतिक स्थिरता नभएसम्म देशको विकास हुँदैन । ६÷६ महिनामा सरकार फेरेर मुलुकको विकास हुँदैन । ’

उहाँले भन्नुभयो, ‘नयाँ शक्तिको स्पष्ट धारणा भनेकै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ र कम्तीमा ५ वर्ष जनताले चुनेको व्यक्तिले शासन चलाउनुपर्छ । त्यसको निम्ति अहिलेको सुधारिएको खच्चड प्रकारको संसदीय प्रणाली फेर्नुको विकल्प छैन ।’

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. ४ की संयोजक बलावती शर्माले व्यापक रोजगारीको अवसर सिर्जना गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘८० वर्ष राजनीतिक अधिकारका लागि लड्यौं अब आर्थिक विकास र समृद्धिका लागि लड्ने बेला भएको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!