पाँच वर्षमा प्यूठान उज्यालो

Posted on: 09 Oct, 2018

असोज २३, प्यूठान (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षभित्र प्यूठानका सम्पूर्ण बस्ती उज्यालो हुने बताउनुभएको छ । 

प्यूठान नगरपालिकाको आयोजनामा आज यहाँ ‘प्यूठानमा ऊर्जा, जलस्रोत र सिँचाइको सम्भावना’ विषयक अन्तक्र्रियामा उहाँले रोल्पामा लुङ्ग्री माडी करिडोर निर्माण कार्य चलिरहेको र प्यूठानमा झिमु्रक करिडोरलाई एकीकृतरुपमा सञ्चालन गरी सडक, सिँचाइ, ऊर्जा र तटबन्धको काम सञ्चालन गर्न अध्ययन गरी यसको गुरुयोजना बनाउन लागिएको जानकारी दिनुभयो । 

धनी टाठाबाठा मान्छे गाउँ छोडेर तराई र शहर केन्द्रित भएर गाउँमा विपन्न वर्गको मात्र बसोबास हुने अवस्था बढ्दै गएकाले विपन्न वर्ग बस्ने ग्रामीण बस्तीहरु सिँचाइ, उज्यालो र भौतिक पूर्वाधारको विकासले हराभरा बनाउने सरकारको प्राथमिकता रहेको मन्त्री पुनको दाबी छ । 

नौमुरे आयोजनालाई बहुउद्देश्यीय बनाई जलजला, स्वर्गद्वारी र रोल्पाबाट माडी हुँदै राप्ती नदीमा भालुवाङसम्मको जलयात्रासहित पर्यटनको नयाँ गन्तव्य बनाएर आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकेमा प्यूठान र रोल्पाको आर्थिक समृद्धि सुनिश्चित हुने मन्त्री पुनले बताउनुभयो । 

कार्यक्रममा प्रदेश नं ५ प्यूठानका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले जिल्लाको जलस्रोत र ऊर्जा क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीलगायत स्थानीय तहका प्रमुख तथा प्रतिनिधि विषयगत कार्यालयका कार्यालय प्रमुखलगायत नागरिक अगुवाको उपस्थिति थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!