प्रदेश नं ५ समाचारः रोकिएका आयोजना शुरु, प्यूठानमा विकास निर्माणका काम

Posted on: 21 Apr, 2020

भेषराज बस्नेत र दीपा घर्ती | वैशाख ९, राँझा | कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीपछि रोकिएको नेपालगञ्ज–बघौडा सडक निर्माणको काम शुरु भएको छ । हुलाकी सडक योजना नेपालगञ्जअन्तर्गत रहेको नेपालगञ्ज–बघौडा सडकखण्डको सामाजिक दूरी कायम गर्ने गरी निर्माण कम्पनीले निर्माण शुरु गरेको हो । 

सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनले बन्दाबन्दीको नियम पूर्णरुपमा पालना गर्दै सीमित जनशक्तिको परिचालन गरी काम शुरु गरिएको हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामसागर हरिजनले जानकारी दिनुभयो ।  उहाँका अनुसार सरकारले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने निर्णय गरेपछि हुलाकी सडकको काम पनि निर्माण कम्पनीले बिहीबादेखि शुरु गरेको हो । 

मजदूरको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी सामाजिक दूरी बनाएर निर्माणको काम शुरु गरिएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिनुभयो । नेपालगञ्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किमी कालोपत्रे भइसकेको बताउँदै उहाँले बन्दाबन्दी कारण रोकिएको काम तदारुकताका साथ अगाडि बढाउने गरी काम भइरहेको जानकारी दिनुभयो । 

अहिले निर्माण  बाँकी रहेको नरैनापुर र कालाफाँटा क्षेत्रमा काम भइरहेको छ । बाँकी आठ किमीमध्ये चार किमी कालोपत्र लागि तयार भएको छ । थप चार किमी कालोपत्रको लागि तयारी भइहेको छ । कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्यावस्थामा प्रभाव नपर्ने गरी कामको व्यवस्था मिलाइएको बताउनुभयो ।

सरकारले सडक निर्माणको काम सामाजिक दूरी कायम गरेर पुनःसञ्चाल गर्न आग्रह गरे पनि फिल्डमा सुरक्षाकर्मी सकारात्मक नभएपछि निर्माण कम्पनीलाई सोमबार जिल्ला प्रशासन कार्यालय र हुलाकी सडक योजना कार्यालय नेपालगञ्जबाट काम सञ्चालन अनुमतिको पत्र बनाइएको सूचना अधिकारी हरिजनले जानकारी दिनुभयो । 

हुलाकी सडक योजना कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको नेपालगञ्ज–बघौडा ४४, फत्तेपुर–बैजापुर २१ , दाङको लमही–कोइलाबास ३६, बर्दियाको बेलवा–राजापुर २६ र भुरीगाउँ–गुलरिया–मूर्तिया ३६ किमी लम्बाइको हुलाकी सडक निर्माण प्रक्रियामा  छन् । 

प्यूठानमा विकास निर्माणका काम   

स्वर्गद्वारी– प्युठानमा महत्वपूर्ण विकासनिर्माण आयोजनाका काम सञ्चालन हुने भएको छ । कोभिड –१९ का कारण देश लकडाउनमा रहे पनि जिल्लाका महत्वपूर्ण आयोजनाका काम सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण नियन्त्रणमा समस्या नहुने गरी कामदारलाई व्यवस्थापन गरेर काम शुरु गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७६÷०७७ मा सक्नुपर्ने भालुबाङ –प्युठान सडकअन्तर्गत दाङ र प्युठान सिमानामा पर्ने प्युठानको गनाहा खोलादेखि  माण्डवी गाउँपालिका ३ चकचकेसम्म सडक मर्मत, सरुमारानी गाउँपालिका दर्भानमा रहेको सुख्खा खोला पक्की पुल र  ऐरावती गाउँपालिकामा रहेको झिमरुक दोभानको पक्की पुलको काम तत्कालै शुरु गर्न लागिएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख विनोदप्रसाद सापकोटाले बताउनुभयो । 

उहाँले जिल्ला प्रशासन कार्यालयले अनुमति दिइसकेकाले  ठेकेदार कम्पनीले काम शुरु गरेको जानकारी दिनुभयो । त्यस्तै झिमरुक नदी नियन्त्रणका लागि तटबन्धनको काम पनि शुरु भएको छ ।  संक्रमणको त्रासका कारण जिल्लामा विकास निर्माणका काम प्रभावित भएपछि सामाजिक दूरी कायम गरेर महत्वपूर्ण आयोजना सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ पन्थले बताउनुभयो ।

निर्माण हुन लागेका आयोजनाको बेलाबेलामा अनुगमनसमेत गरिने जनाइएको छ ।   झिमरुक नदी तटबन्धन र सुख्खाखोला पक्की पुलको काम सम्पन्न गर्ने जिम्मा पाएको मल्लरानी आँसु जेभी कम्पनीका प्रतिनिधि बालाजु श्रेष्ठले सरकारले राम्रो निर्णय गरेको र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर काम अगाडि बढाइएको बताउनुभयो ।  

“समयमै काम सक्ने गरी काम अगाडि बढाएको छु”, उहाँले भन्नुभयो,“अहिले कोरोना भाइरसले सताएको छ, बर्खा लाग्न थाल्यो, पछि झिमरुक नदीले सताउन सक्छ । त्यसकारण झिमरुक नदी नियन्त्रणका लागि रु आठ करोडको तटबन्धनलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छु ।” उहाँले यसै आवमा  काम सक्ने गरी काम अघि  बढाइएको पनि बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!