प्युठानमा प्रहरी र स्थानीयबीच झडप, चारजना घाइते

Posted on: 12 May, 2017


वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका छन् । 

घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन् । खबिराम  टाउकोमा चोट लागेको गम्भीर घाइते भएका छन् । 

बिहीवार राति स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए ।उनी गएराति १ बजे शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।  

२९ वर्षका गिरीको प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन् । घर झगडाको विषयमा अनुसन्धान गर्न भनि ल्याइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीय बासिन्दाले बताएका छन् । 

प्रहरीले भने यो घटनालाई गिरी आफैले आत्महत्या गरेको जनाएको छ । तर आफन्तले स्विकारेका छैनन् । उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन् । यही विषयलाई लिएर स्थानीय बासिन्दाले रोल्पा–प्यूठान सडक खण्ड बिहानैदेखि बन्द गराएका छन् ।

अहिले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको छ । प्रहरी र  स्थानीय बासिन्दाबिच छलफलको तयारी भइरहेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!