प्युठानका तीन बालिकालाई कपिलवस्तुबाट यसरी गरियो उद्धार

Posted on: 25 Jan, 2018

माघ ११, कपिलवस्तु । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी नेपाली सीमा नाका कटाउन लागेको आवस्थामा प्यूठानका तीन बालिकालाई कपिलस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ । 

काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले नेपाली सीमा नाका कटाउन लागेको अवस्थामा चेलीबेटी बेचबिखानविरुद्ध सक्रिय संस्था शान्ति पुनःस्थापना गृहले प्रहरीको सहयोगमा उनीहरुलाई कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उद्धार गरिएको हो । 

उद्धार गरिएका बालिकामा प्यूठान सरुमारानी गाउँपालिका घर भएका दुई र स्वर्गद्वारी नगरपालिकाकी एक छिन् । तीमध्ये दुई बालिकालाई परिवारको जिम्मा लगाइ घर फिर्ता गरिएको शान्ति पुनःस्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । 

विचौलियाले ती बालिकालाई शिवराज नगरपालिकाको वडा नं १ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन बिहानै कृष्णनगर पु¥याएको बुझिएको छ । 

सीमा निगरानीमा खटिएका शान्ति पुनःस्थापना गृहका कर्मचारीले शंका लागेर सोधपुछका लागि उनीहरुलाई सम्पर्कमा ल्याएको थियो । सोधपुछका क्रममा उनीहरु विचौलियाको फन्दामा परेको बताए । 

आफूहरुलाई काठमाडौँ कता पर्छ भन्ने थाहा नभएको भन्दै बालिकालाई कृष्णनगरबाट भारत प्रवेश गर्न लागेपछि अचम्मित भएका थिए । विचौलियाले काठमाडौँमा जागिर लगाइदिन्छु भन्दै भारत पु¥याउन लागेको खुलेको छ । 

सो संस्थाले दुई दिनअघि १२ वर्षीय शान्ति र १४ वर्षीया मीना (नाम परिवर्तन) तथा चार दिनअघि प्यूठानकी अर्की १४ वर्षीया एक बालिकालाई भारत लैजाने क्रममा सीमाबाट उद्धार गरी उनीहरुलाई परिवारको जिम्मा लगाएको पनि संयोजक भट्टराईले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!