साउदीबाट श्रिमानको गुहार- 'बलात्कारीले मेरो परिवारको खुसि लुट्यो !'

Posted on: 16 Aug, 2018

साउन ३१, काठमाडौँ | साझा सबाल मिडियालाई प्युठान स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो... 

'हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका ... (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु । ३३ महिना पुग्यो । म घरबाट निस्केको २ महिना जति हुँदा मेरो घरमा गाउँकै तोपे सुनुवारले मेरो श्रीमती लक्ष्मी दमै (नाम परिवर्तन) दुई सन्तान छोरा-छोरी सहित घरमा राती सुतेका बेला जबर्जस्ती आएर बलात्कार गरेछ, अनी डर धम्की देखाइ 'तेरो बुढासँग भनिदिन्छु' भन्दै त्यसपछि पनि डर देखाउँदै पटक-पटक बलात्कार गर्दै आएको रहेछ । उक्त घृणित कार्य अति भएपछि मेरी श्रीमतीले मलाई भनिन् । र मेरो सल्लाह बमोजिम मेरी श्रीमतीले आफ्नो न्यायको लागि प्रहरी चौकीमा रिपोर्ट लेखाइन् । र अहिले उ प्रहरी हिरासतमा छ । हाम्रो बिहे १० बर्ष अगाडि भएको हो र हाम्रो एउटा हासी-खुशी परिबार थियो जुन अहिले त्यस बलात्कारीको कारण लुटिएको छ । छोरा ८ बर्षको र छोरी ६ बर्षकि छन् । मेरो बैदेशिक रोजगारीको बाध्यता त्यस बलात्कारीलाई मौकाको फाइदा बनेछ । हामी दु:खी गरिबको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउनको निम्ति हजुरलाई हार-गुहार गरेको हुँ । यो संदेश बाध्यताले गरेको हुँ, यस्ता कुराहरु समाजमा कसरी दबिएर बस्दा रहेछन् र मेरी श्रीमती जस्तै कति कतिका श्रीमतीहरु आफूमाथि अन्याय सहेर पनि गुपचुप बस्दा रहेछन् भन्ने कुरा मैले मेरो श्रीमतीबाट बुझें । यो घटनामा मेरो अनपढ श्रीमतीलाई डर देखाई-देखाई छोरा-छोरी मारिदिन्छु भन्दै धम्काई-धम्काई उसले अस्मिता लुतेछ । तर निरन्तर लुटिएकि मेरी श्रीमतीले मलाई सबै कुरा भनेपछि आफूले बुझेर अरुलाई पनि यस्ता घटनाबाट सतर्क रहन आग्रह गर्दैछु । हामी विदेश आएकाहरुलाई उसै त आफ्नो परिवारको चिन्तन छ, त्यसमा पनि गाउँमा त्यस्ता नरपिपासुले हाम्रो छोरी चेली र श्रीमतीलाई गिद्दे नजर लगाईरहेका हुँदा रहेछन् । अझै पनि त्यो नरपिपासु कानुनी कारवाहीबाट बच्ला र मेरो परिवारलाई अझै लथालिंग बनाइदेला कि भन्ने दिन-रात डर मेरो मनमा पैदा भईरहेछ । त्यसैले पनि तपाइँको माध्यम सम्झिएको हुँ । त्यस्ता नरपिपासुलाई कारबाही हुनैपर्छ सर । 

पिडित के भन्छिन् ? 

केहि दिन अघि माथिको संदेशसंगै साउदीमा रहेका तुक बहादुर दमैले आफ्नी श्रीमतीको मोबाइल नम्बर पनि पठाए । त्यसपछि हामीले उनको श्रीमतीलाई फोन सम्पर्क गर्यौं । उनले निसंकोच आफूमाथि भएको अन्याय खोल्न थालिन् । 'म नपढेको मान्छे, केहि पनि जान्दिन सर । मेरो श्रीमान गएपछि उसले एक दिन मेरो घर छिरेर जबर्जस्ति बलात्कार गर्यो । बलात्कार पछी कसैलाई भनिस् भने तलाई र तेरो छोरा-छोरी मार्दिन्छु भन्दै डर देखाएकोले कुरा खोल्ने आँट भएन । तर त्यो घटना पछि उसले फेरी तेरो बुढालाई भन्दिन्छु भन्दै डर देखाएर मलाई पटक-पटक बलात्कार गर्यो ।' 

उनको अनुसार पटक-पटक श्रीमानलाई भन्दिन्छु भन्दै बलात्कार गर्न थालेपछि असह्य भएर लक्ष्मी दमै (नाम परिवर्तन) आफैले श्रीमानलाई आफूमाथि भएको घटनाबारे गत असार २८ गते मुख खोलेकी थिइन् । 

उनि भन्छिन 'उसले मलाई डर देखाएर पटक-पटक बलात्कार गर्यो, अहिले जेलमा छ तर उसले सहमति भएर गरेको हो, मलाई पनि जेलमा ल्याउनुपर्छ भन्दै छ रे ! म बोल्न नजान्ने मान्छे सर, मलाई जिन्दगीभर दु:ख दिने भयो भन्ने सोचेर आफैले शाहस गरेर श्रीमानसँग मुख खोलेको हुँ । उहाँले सुरुमा त अब म तलाई स्वीकारदिन, उसैसँग जा भन्नुभएको थियो तर पछी उहाँले नै प्रहरीलाई गएर रिपोर्ट गर्न भन्नु भएपछी मैले प्रहरीलाई निवेदन दिएको हुँ तर अझै उ (बलात्कारी) जेलबाट छुटेर आएर केहि गर्छ कि भन्ने डर हामीलाई छ ।'  

पछिल्लो समय साउदीमा रहेका श्रीमानले तपाइँलाई कस्तो व्यवहार गर्नुहुन्छ ? भन्ने साझा सबालको प्रश्नमा लक्ष्मी (नाम परिवर्तन) भन्छिन् -'उहाँले हाम्रो दुई छोरा-छोरी छ, त्यसैले पनि म तलाई छोड्दिन, तर उसले जेल खान्छ भने मात्र तलाई म स्वीकार्छु नत्र म स्वीकार गर्दिन, भन्नुहुन्छ ।'  

लक्ष्मीको अनुसार आफुलाई बलात्कार गर्ने तोपे सुनुवारले उनलाई पढ्न पनि नजान्ने र घरमा कोहि पनि नभएकी महिला ठानेर गलत काम गर्ने आँट गरेका हुन् । सुनुवारले गाउँमा दादागिरि गर्नेदेखि गाउँका बुढापाकालाई समेत पिट्ने गरेको पिडितको भनाई छ । पिडितको अनुसार गत जेठ ५ गते गाउँकै १४ बर्षीय बालिकालाई पनि उनले गलत कार्य गरेका थिए तर गाउँलेले एक पटकलाई भन्दै घटना गाउँमै साम्मे पारेका थिए । 

बलात्कारको सृंखला यसरी सुरु भयो... 

पिडितको अनुसार - 'श्रीमान विदेशमा थिए, अहिले पनि विदेशमै हुनुहुन्छ । मेरो साथमा नावालक ६ बर्षकी छोरी र ८ बर्षका छोरा मात्र थिए । मङ्सिर महिना थियो । बाहिरबाट कसैले ढोका खोल्न भन्यो - मैले आफ्नो भाई आएछ भन्ने ठानेर ठोका खोल्ना साथ एक्कासी उ भित्र छिर्यो । मैले किन अर्काको घरमा राति १० बजे यसरी छिरेको ? भन्दा केहि जवाफ नदिएर एक्कासी मलाई छोपेपछि मलाई जबर्जस्ति गर्न थाल्यो । कराउन सकिन, ओल्लो ढोकाबाट पल्लोतिर र पल्लोतिरबाट ओल्लोतिर फाल्यो... त्यसरी मलाई बलात्कार गर्यो । अनि पछी मलाई कसैलाई भनिस् भने तलाई म बाच्न दिन्न, तेरो परिवारको जसलाई भेट्यो उसैलाई मार्छु भनेर धम्कायो । मलाई मेरो श्रीमान, छोरा-छोरालाई मार्छ कि, मलाई मार्छ कि भन्ने डर भयो, त्यसैले पनि कुरा खोल्ने आँट आएन । पछी उसले पटक-पटक श्रीमानलाई भन्दिन्छु भन्दै डर देखाउंदै बलात्कार गरेपछी अति भएर आफैले श्रीमानलाई भन्न बाध्य भएँ । उसले गाउँमा समेत ४९९ पुग्यो अब १ जनासँग भयो भने ५०० पुग्छ भनेको रहेछ । अरुको जे होस् मेरो जिन्दगी बर्वाद गर्दियो । 

आरोपी तोपे सुनुवार कारागारमा 

साझा सबाल मिडियाले यस बिषयमा थप जानकारी लिन सम्बन्धित प्रहरी कार्यालयमै सम्पर्क गर्दा आरोपी तोपे सुनुवार पुर्पक्षको लागि कारागार चलान गरेको छ । आरोपी सुनुवार विरुद्ध बलात्कार मुद्दा परेको र अदालतबाट फैसला हुने क्रममा रहेको प्युठान जिल्ला प्रहरी कार्यालयका सई नरेश ढकालले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!