प्युठानमा गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’

Posted on: 25 Mar, 2021

चैत १२, प्युठान । कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभँैसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ ।  प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो । जिल्लाका व्यावसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत डा हरिनारायण थारुले जानकारी दिनुभयो ।

दूधालु गाईभँैसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।  पहिलो चरणमा प्युठान नगरपालिकाका २१ गाईभँैसीको उपचार गरिएको छ । “एक पटकमा समस्याग्रस्त २० गोठमा जाने योजनानुसार कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरण सकायौ, अबको हप्ता, १० दिनमा दोस्रो चरण शुरु गर्छाैँ ।” पहिलो चरणमा प्युठान नगरपालिकामा गाईभैँसीको उपचार गरे पनि दोस्रो चरणमा अन्य क्षेत्रमा जाने उहाँले बताउनुभयो । गाईभैँसीको बाँझोपन, जुका, माटे, खनिजतत्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु विकास अधिकृत थारुले बताउनुभयो । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको छ ।

एक गाईभैँसीलाई उपचारका लागि व्यवस्थापकीय खर्चसहित रु १० हजार खर्च हुने बताइएको छ । “गाईभैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ”, उहाँले भन्नुभयो, “उपचारपश्चात् प्रजनन  हुने र दूध उत्पादन पनि हुनेछ ।”

कृषि कार्यालयले कार्यक्रम सञ्चालन गरेपछि किसान खुशी भएका छन् । कार्यालयबाट घरमै पुगेर सो सेवा दिनु राम्रो भएको प्युठान– ९ मरन्ठानाका किसान बोमबहादुर भण्डारीले बताउनुभयो । आफूले पालेको एउटा गाईमा  प्रजनन नहुने समस्या रहेको र कार्यालयबाट उपचारसँगै निःशुल्क औषधि पाएको उहाँले बताउनुभयो ।  प्रत्येक वर्ष एक पटक यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने उहाँले   बताउनुभयो ।कार्यालयका अनुसार जिल्लामा १३ हजार ४६१ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । अझै सात हजार २५४ मेटन दूध जिल्लाका लागि अपुग छ ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!