नवजागरण साकोस मन्थली १ करोड २४ लाख मुनाफा गर्न सफल

Posted on: 01 Oct, 2018

प्रज्वल पौडेल । असोज १५, रामेछाप । 

नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले १ करोड २४ लाख १८ हजार ९० रुपैँया खुद नाफा कमाएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको २० औँ बार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले आर्थिक वर्ष २०७४/७५ को आर्थिक  प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।

सहकारीले यस आर्थिक वर्षमा कूल ३१ करोड ८९ लाख ७८ हजार ७१८ रुपैँया बराबरको कारोबार गरेको छ । संस्थाले गत बर्ष ७२ लाख २१ हजार ९ सय २१ रुपैयाँ खुद मूनाफा कमाएको थियो  ।


सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षतामा एवम् प्रदेश नं ३ का सदस्य शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्तामा भएको साधारणसभामा संस्थाका सचिव सोमेश थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीमा २ करोड  ५० लाख ८३ हजार २२ करोड चुक्ता शेयर र  ९७ लाख ५२ हजार  ७ सय १४ रुपयाँ बचत रहेको जानकारी दिनुभयो । सहकारीले २४ करोड ६  लाख ७९ हजार ५ सय १५ ऋण लगानी गरेको जनाएको छ । 

सहकारी संस्थामा २ हजार ५ सय १६ जना महिला र २ हजार ६ सय ७८ जना पुरुष गरी ५ हजार १ सय ९४ जना शेयर सदस्यहरु रहेका छन् । त्यस्तै सहकारीमा थप ४९ वटा संस्थागत सदस्यसमेत रहेका छन् ।


साधारण सभाले पदावधि समाप्त भएका पदहरुको पदपूर्ति समेत गरेको छ । जसमा सचिव सोमेश थापा र सदस्यहरुमा भीमसेन थापा, कुमारी माझी र शान्ता श्रेष्ठ लेखा समितिमा कविता श्रेष्ठ  रहेका छन् ।

यसैगरी कार्यक्रममा संस्थागत विकासमा सहयोग पुर्याउने अभिप्रायले नेपाल पत्रकार महासंघ रामेछापलाई एक थान डेक्सटप कम्प्युटर प्रदान गरेको छ । सहकारी क्षेत्रलाई अघि बढाउनका लागी पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउदै संस्थाले जिल्लामा क्रियाशिल पत्रकार नवराज पथिकलाई सम्मान समेत गरेको छ ।

यसैगरी बचत तथा ऋण कारोबार गर्ने उत्कृष्ट गरेर सहकारीलाई योगदान दिने २९ जना शेयर सदस्य र ४ जना जेष्ठ सदस्यलाई समेत सम्मान गरिएको सहकारीका व्यवस्थापक रमेश उदाशले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने ३१ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रमको अन्तिम समयावधिसम्म रहने शेयर सदस्यमध्येबाट गोलाप्रथा गरि ३० जनालाई चरेसको थाल वितरण गरिएको छ । 


त्यसैगरी सहकारी अध्ययन अवलोकन भ्रमण लैजानका लागी २० जना शेयर सदस्य छनौट भएका छन् भने अन्य ५ जना वैकल्पिक सदस्यको पनि टुङ्गो लगाएको छ । सहकारीले हरेक वर्ष साधारणसभाबाट गोलाप्रथामार्फत सहकारी भ्रमणका लागी सदस्य छनोट गर्दै आएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!