नेफ्स्कुनले सुस्त सदस्य बोक्न सक्दैन: अध्यक्ष बस्नेत

Posted on: 17 Feb, 2017

फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ्स्कुनले क्रियाशिल सदस्य मात्रै चाहेको भन्दै उहाँले सुस्त सदस्य बोक्न नसक्ने तर्क गर्नुभयो । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको ११ औँ बार्षिक साधारण सभाको शुक्रबार रामेछाप सदरमुकाम मन्थलीमा उद्घाटन गर्दै उहाँले बचत संघका पदाधिकारीलाई आफूले बैंकमा जम्मा गरेको रकम सहकारीमै राख्न आग्रह गर्नुभयो । 

उहाँले जिल्ला बचत संघलाई सक्रिय बनाउन पनि सुझाव दिनुभएको छ । उहाँले रामेछापका सहकारीले गर्ने सबै काममा सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ । कार्यक्रममा नेफ्स्कुनका संचालकहरु कृष्ण नेपाल, उत्तम सापकोटा र नानीकाजी शाक्यले सहकारीको माध्यमबाट मात्रै आर्थिक समृद्धि सम्भव रहेको बताउनु भएको छ । 

यसैबीच संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको साे  कार्यक्रममा संघका महासचिव जगन्नाथ दाहालले बार्षिक र आगामी योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभयाे । कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष पार्वती पाठक घिमिरेले गत श्रावणदेखि माघ मसान्त सम्म १६ लाख ६१ हजार ३ सय ७५ बराबरको आयव्यय विबरण प्रस्तुत गर्नुभयाे । 

-पत्रकार निराेजकुमार थापाकाे सहयाेगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!