मंसिरसम्म तीनवटै तहको निर्वाचन हुन्छ: देउवा

Posted on: 15 Feb, 2017


फागुन ४, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मंसिर भित्र संघीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने देउवाले बताउनुभयो । बुधबार रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिक अनावरण पछि आयोजित सहिद परिवारको सम्मान कार्यक्रममा देउवाले यस्ताे बताउनुभएको हो । 

नेपाल अहिले पनि संक्रमणकालमै रहेको बताउँदै देउवाले तीनवटै तहको निर्वाचन नसकि संक्रमणकाल अन्त्य नहुने धारणा राख्नुभयो । 

कार्यक्रममा भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार निर्वाचन र संविधान कार्यान्वनको दुईवटा एजेण्डा लिएर बनेको भन्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न संसदमा पेस भएको संशोधन विधेयक माथि छलफल गरी मतदान प्रक्रियालाई कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरे, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मनमोहन भट्टराई, सांसद आङटावा शेर्पा, शिवबहादुर खड्का, तिर्थ लामा लगायतका नेताहरुले सहिदको सपना पूरा गर्न सबैले योगदान दिनुपर्ने बताउनु भएको छ । 

कांग्रेस कार्यकर्ता गोविन्द खड्कालाई तत्कालीन माओवादी कार्यकर्ताले २०५८ फागुन ४ गते नियन्त्रणमा लिएर हत्या गरेका थिए । उनको स्मृतिमा उनकै जग्गामा शालिक निर्माण गरिएको हो । -निरोजकुमार थापाको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!