जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्छु : मुख्यमन्त्री पौडेल (भिडियो सहित)

Posted on: 24 Feb, 2018


प्रज्वल पौडेल । फाल्गुन १२, काठमाण्डौ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका जनतालाइ प्रभावित पार्ने किसीमका योजना छनौट गर्न आग्रह गर्नुभयो । नेकपा एमाले रामेछाप काठमाण्डौ सम्पर्क मञ्‍चले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले विकास आफै नआउने भएकाले कहाँबाट पाउने हो खोजेर ल्याउन लाग्‍नुपर्ने बताउनुभयो । उहाँले यो पहिलो आर्थिक बर्षमा १३ वटै जिल्लाले १/१ वटा नमूना काम गर्नुपर्ने भएकाले आफ्नो जिल्लाको आवश्यकता अनुसार योजना अगाडि बढाउनुपर्ने धारणा राख्‍नुभयो ।


मुख्यमन्त्री पौडेलले विकास र समृद्धिका सबालमा भाषण मात्र नगरी काम गरेर देखाउने बताउनुभयो । उहाँले भन्‍नुभयो - "बजेटमा सबै सरकारका राम्रा नीति र कार्यक्रम हेर्दा राम्रो भएपनि कार्यान्यन पक्ष फितलो भएकाले नराम्रो देखियो । व्यवहारमा हेर्दा नीति र कार्यक्रम एक अक्षरमा पनि लागु भएको छैन । व्यवहारमा नीति र कार्यक्रम भन्दा  बाहिर रहेर काम गरेकाले विकासले गति लिएन ।" अब हामी त्यसको विरुद्धमा लाग्‍ने र घोषणा गरेका नीति कार्यक्रम कार्यान्यन गरेर प्रदेशलाइ समुन्‍नत बनाउने पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सबैको साथ र सहयोगबाट मात्रै शान्त, समृद्ध एवम् विकसित प्रदेश निर्माणका हुने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।  



पौडेलले ६० भन्दा बढी कानुन बनाउनुपर्ने भएकाले कानुन निर्माण पश्चात मात्र प्रदेशको हैसियत स्पष्ट भएर विकासले गति लिने धारणा राख्‍नुभयो । इजरायलको उदाहरण दिदै मुख्यमन्त्री पौडेलले कृषिलाई व्यवसायीकरण र औद्योगीकरण नगरी मुलुक आर्थिक रूपमा सबल नहुने भएकाले यसका लागि कृषिमा नयाँ संरचना र नीति नियमको आवश्यक रहेको धारणा राख्‍नुभयो ।

कार्यक्रममा सम्पर्क मञ्‍चले एमाले वरिष्ठ नेता झलनाथ खनाल, मुख्यमन्त्री पौडेल, रामेछाप जिल्लाका प्रतिनिधी र प्रदेश सभाका सांसदलाइ बधाइ तथा सम्मानित गरेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!