धुँवा न्यूनीकरणका लागि अभिमुखीकरण

Posted on: 28 Oct, 2016

, १२ गते, धुन्चे, रसुवा । पुननिर्माणसँगै घरभित्र प्रयोग गरिने परम्परागत उर्जाको साटो स्वच्छ तथा धुँवारहित चुल्हो प्रयोगका लागि अभिमुखीकरण सम्पन्न भएको छ । घरभित्रको धुँवा निवारण तथा वातावरण संरक्षण मञ्च नेपालले प्राक्टिकल एक्सन नेपाल, जिआईजेड र इन्डेभको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

राम्चे गाविसका सरोकारवाला तथा महिला स्वास्थ्य स्वयम् सेविका र कालिकास्थानमा विभिन्न सहकारीका पदाधिकारीलाई उक्त अभिमुखीकरण सम्पन्न भएको संस्थाले जनाएको छ । संस्थाले गत वर्षदेखि ''नेपालमा चिम्नीहुड चुल्होको दीगो बजार स्थापनाका लागि परिणाममुखी लगानी सहयोग परियोजना सञ्चालन गरिरहेको छ । विभिन्न सहकारी संस्थामार्फत् गाउँगाउँमा चिम्नीहुड चुल्हो बिक्री वितरण गरी रसुवा जिल्लालाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउन परियोजनाले सहयोग पुर्याउने बताईएको छ ।

परियोजनाका व्यवस्थापक मिनबिक्रम मल्लले परियोजनामार्फत् रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुरमा ३० हजार घरधुरीमा स्वच्छ तथा उन्नत चुल्हो बिक्री बितरण गरिने बताएका छन् । परिणाम प्राप्त भएपछि मात्र परिणाममुखी लगानी सहयोग गरिने भएकोले यो परियोजना अन्य परियोजनाभन्दा फरक भएको पनि मल्लले बताए ।

नुवाकोट जिल्लामा समेत् सञ्चालन गरिने उक्त परियोजनाले ७५०० घरमा चिम्नीहुड राखिने भएपनि भुकम्पका कारण ४५०० घरमा भने अन्य स्वच्छ चुल्हो वितरण गरिएको छ । भुकम्पपछिको पुननिर्माणसँगै सबैको घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो राख्नका लागि समुदायलाई अभिमुखीकरण गरिने बताईएको छ ।

'धुँवारहित चुल्हो धुँवारहित घर : महिला तथा बालबालिकाको स्वास्थ्यको समुन्नत आधार'' भन्ने मूल नाराका साथ संस्थाले रसुवामा विभिन्न धुँवा न्यूनीकरण अभियान सञ्चालन गर्दै आईरहेको छ । परियोजना साझेदार संस्था तथा जिविस-स्थानीय युवा साझेदारी कार्यक्रमको सहयोगमा रसुवाका ३ वटा रेडियोमार्फत् ''साप्ताहिक रेडियो कार्यक्रम घरभित्रको धुँवा'' पनि सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष लिलानाथ न्यौपानेले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!