रसुवागढी नाकाबाट सोमबारदेखि समान भित्रँदै

Posted on: 21 Jan, 2018

माघ ७, रसुवा | नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ । 

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढिसकेको जानकारी प्राप्त भएको बताउनुभयो । 

नेपालमा सामान पठाउने केरुङ क्षेत्रको ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्सेपिङले आज मध्याह्नसम्म २०० नेपाली कन्टेनरमा सामान लोड गर्ने काम सम्पन्न भइसकेकाले भोलिदेखि नेपालमा सामान पठाइने बताउनुभयो । उहाँका अनुसार भोलि बिहानसम्म ५०० ट्रक, कन्टेनरमा सामान लोड गरिसक्ने लक्ष्य छ । 

नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामानलगायत रहेको ज्याङ्सेपिङले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!