गोसाईंकुण्डमा खाद्यान्न ढुवानी

Posted on: 03 Aug, 2016

 साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । 

चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन चन्दनबारीदेखि कुण्ड स्थानसम्मका सबै व्यवसायीले करिब १५ हजार तीर्थालुलाई भोजन पुग्ने खाद्यान्न खच्चरद्वारा ढुवानी गरिसेकेका छन् । 

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित धार्मिक एवम् पौराणिक गोसाईंकुण्ड स्थान गर्नाले आफ्नो सबै मनोकांक्षा पूरा हुने धार्मिक विश्वासअनुरुप सबै तीर्थालु जिन्दगीमा एक पटक भए पनि गोसाईंकुण्ड पुग्नै पर्ने मान्यता रही आएको स्थानीय पूरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । 

गोसाईंकुण्डको धार्मिक यात्रालाई सहज बनाउन नेपाली सेना र स्थानीय व्यवसायीद्वारा खन्ती उकालोदेखि गोसाईंकुण्डसम्मको बाटो आजै मर्मत गरिसकिएको र भइरहेका होटलका साथै नपुग स्थानका लागि अस्थायी छाप्रो(थर्पु) निर्माण कार्य धमाधम भइरहेको व्यवसायी लामाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!