सांसद एवं विज्ञहरुको सुझाव: प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

Posted on: 25 May, 2019

जेठ ११, काठमाडौँ | प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।

प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दीपेन्द्र श्रेष्ठ, डा प्रदीप मैनालीसहितले प्रदेशभरको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशङ्कर हुने सुझाव दिनुभयो ।

सो नामकरणको निर्णय गर्न सांसद खड्काले गत साता प्रदेशसभामा प्रस्ताव दर्ता गराइसक्नुभएको छ । त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको जानकारी कार्यक्रममा दिइयो ।

“पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारणसमेत गौरीशङ्कर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौँ”, कार्यक्रममा वरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले भन्नुभयो ।

नेता चौलागाईंले नाम र राजधानीको विषयमा प्रदेशसभाको यही अधिवेशनमा मतदान हुने औँल्याउँदै गौरीशङ्कर हुनसक्ने सम्भावना रहेको बताउनुभयो । काठमाडौँका प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठले हिमालैहिमाल भएको प्रदेशमा हिमालबाटै नामकरण हुनु उपयुक्त हुने सुझाव दिनुभयो । प्रस्तावक सांसद खड्काले गौरीशङ्कर नामकरण गर्नुपर्ने आधार र कारणहरु राख्नुभएको थियो ।

डा मैनालीले गौरीशङ्करको महीमा पशुपतिदेखि त्रिशूलीसम्म जोडिएको प्रसङ्ग झिक्दै हिमालय पर्वत शृङ्खलाबाटै नामकरण गर्दा उचित हुने भएको धारणा राख्नुभयो । कार्यक्रममा शोभित उप्रेती, प्रवीण प्रधान, बालकृष्ण बस्नेत, दिलीप थापामगर, सन्तोष खड्का, टेकराज थामीसहितले यो प्रदेशको नामकरण हिमालबाटै गर्दा सर्वस्वीकार्य हुने भएकाले गौरीशङ्कर राख्न सुझाव दिनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!