लकडाउनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको दैनिकी

Posted on: 09 Apr, 2020

अञ्जली थापा | चैत २७, चुरियामाई | कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न सिङ्गो मुलुक केन्द्रित भएका बेला वाग्मती प्रदेशका प्रमुख, सभामुख र मुख्यमन्त्री प्रदेशभित्र भाइरसको रोकथाम र नियन्त्रणमा निवास र कार्यालयबाट नियमित सक्रिय रहनुभएको छ ।

प्रदेश प्रमुख विष्णु प्रसाईं जिल्लामा औषधि र खाद्यान्नको अवस्थाबारे बुझ्ने र थप गर्नुपर्ने स्थानमा प्रदेश सरकारलाई निर्देशन दिने गर्नुहुन्छ । उहाँले प्रत्येक तीन–तीन दिनमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने र देखिएका समस्या समाधान गर्न आग्रह गर्ने काममा आफूलाई व्यस्त बनाउनुभएको छ । यी सबै कार्य उहाँले आफ्नो निवासबाट नै गर्नुहुन्छ । “यस्तो विषम परिस्थितिमा फोन र सामाजिक सञ्जालबाट गर्न सकिने कार्य घरबाटै गर्नुपर्छ, आफू पनि सुरक्षित हुनुपर्छ अरुलाई पनि गराउनुपर्छ ।” उहाँले भन्नुभयो ।

महामारीबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिँदै सबैले योगा र व्यायाम गर्नुपर्छ सुझाव दिँदै आफू सामान्यतः बिहान ४ बजे उठेर कपालभातीलगायतका योगाभ्यास गर्ने गरेको जनाउनुहुन्छ । उहाँको देब्रे हात पछाडिबाट माथि नजाने समस्या रहेकाले मोही पार्ने योगा गर्ने गर्नुहुन्छ । योगाले स्वस्थ र फुर्तिलो रहन मद्दत गर्ने बताउँदै सबैले यसको पालना गरेमा स्वस्थ्य भइने प्रसाईँको अनुभव छ । 

बिहानको समय आफ्नो शारीरिक स्वास्थ्यमा खर्च गर्ने बताउँदै उहाँले दिउँसोको समयमा जिल्लाको अवस्था बुझ्ने र सोही बीचमा पुस्तक पढ्ने गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, “राज्यले तपाईंहरुको स्वास्थ्यका लागि लकडाउनको निर्णय लिएको हो, यसलाई पूर्ण पालना गर्नुस् र सुरक्षित रहनुहोस् ।” 

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ यसबीचमा बिहानको खाजा र केहीबेरको आरामपछि दुई घण्टा अध्ययन गर्ने गर्नुहुन्छ । आफूले थाइराइडसमेत प्राणायामबाट नै निको पारेको बताउँदै उहाँले सर्वसाधरणलाई टेलिभिजन तथा युट्युब हेरेर भए पनि यसको अभ्यास गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो दैनिकी बिहान ३ बजेबाट नै शुरु हुने बताउँदै अधिकांश समय ध्यान तथा योगा गरेर व्यतित गर्ने गरेको जानकारी दिनुभयो । बिहान उठ्नेबित्तिकै पहिलो काम नै योगा र ध्यान रहेको उहाँले जानकारी दिनुभयो । त्यसपछि बगैँचामा भएका बोटबिरुवा चलाउने गरेको उहाँको भनाइ छ । बोटबिरुवा चलाउँदा पनि त्यसबाट आफूमा सकारात्कम किरण तथा शक्तिहरु प्रवेश गर्ने भएकाले सर्वसाधारणलाई पनि आफ्नो घर तथा करेसामा भएका बोटबिरुवा गोडमेल गर्न उहाँले सुझाउनुभयो ।

बुद्ध दर्शनमा स्नातकोत्तर श्रेष्ठ यही विषयमा पुस्तक पढेर समय बिताउने गरेको बताउँदै अन्य किताब तथा समाचार सामग्रीमा पनि केही समय खर्चने जनाउनुहुन्छ । श्रेष्ठले सभामुखको जिम्मेवारी सम्हालेसँगै राजनीतिक गतिविधिमा संलग्न नभए पनि राजनीतिबाटै आएका कारण सर्वसाधारणले गुनासोसहित फोन गर्ने हुनाले त्यो समाधान गर्न समन्वय गर्ने गरेको उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिका ९ र ३२ नं वडामा टेलिफोनमार्फत नै राहत वितरणमा समन्वय गरिरहेको उहाँको भनाइ छ । 

कार्यकारी भूमिकामा रहेकाले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अधिकांश समय विभिन्न निकायका व्यक्तिसँग छलफल र कार्यान्वयनमा समय बित्ने गर्छ । उहाँले लकडाउनको समयमा निवासमा मात्र बस्न नमिल्ने बताउँदै दैनिक अधिकांश समय व्यक्तिगत काममा भन्दा पनि सरकारको काम र छलफलमा बिताउने गरेको जनाउनुभयो ।

उहाँ बिहान ५ बजे उठेपछि राति ११ बजेसम्मको समयमा कार्यतालिका बनाएर काम गर्नुहुन्छ । बिहानको नित्यकर्म, चियानास्ता र समाचार पढ्नेबाहेक बिहानीको सबै समय काममा खर्चने गरेको जनाउँदै उहाँले बिहान ८ बजेदेखि ८ः३० बजेसम्म स्थानीय तह तथा माननीयसँग टेलिफोन कुराकानी गर्ने सुनाउनुुभयो । त्यसपछि १० बजेसम्म विभिन्न भेटघाट र ११ बजे खाना खाएर कार्यालय जाने गर्नुहुन्छ । उहाँ प्रदेशका महत्वपूर्ण काम भएमा ५ बजेपछि पनि व्यस्त हुने र नभएमा ५ बजेपछि निवास फर्कने गर्नुहुन्छ । दैनिक कार्यसमीक्षाका लागि उहाँले ५ देखि ६:३० बजेसम्मको समय निर्धारण गर्नुभएको छ भने बेलुकाको खानापछि सुत्नुअघि केहीबरे अध्ययन पनि गर्ने गर्नुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!