ट्राफिक कारवाही तीव्र

Posted on: 07 Feb, 2021

माघ २५, रसुवा । रसुवामा इजाजतबिना सवाारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो ।

परीक्षणको क्रममा ३५ का  अनुमति पत्र नभएका र २०  सवारी साधनले नवीकरण नगरेका भेटिइएको थियो ।  जिल्ला ट्राफिक प्रमुख चन्द्रबहादुर घिसिङले सबैलाई पहिलो पटक कारवाहीस्वरूप जरिवान गरी छोडिएको जानकारी दिनुभयो । 

उनीहरुलाई ट्राफिक नियम, हुनसक्ने जोखिम, भोग्नु पर्ने सजाय समेतका बारेमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । विशेष परीक्षण  अन्तर्गत समग्रमा ५०  सवारीसाधन कारवाहीमा परेका र जरिवानबापत दुई लाख ५० हजार राजश्व दाखिला भएको बताइएको छ । 

ट्राफिक व्यवस्थापन अन्तर्गत  नियम उलङ्घन गर्ने सवारी साधनलाई बढीमा दुई हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । जरिवाना गरिएका सवारीसाधन मध्ये छ देखि नौ वर्षसम्म नवीकरण नभएका तीन  सवारीसाधनका धनीलाई छिटो नवीकरण गराउन कबुलियतसमेत गराइएको छ ।

 दिन प्रतिदिन पासाङल्हामु राजमार्गमा गुढ्ने सवारीसाधनमध्ये सबै भन्दा धेरै मोटरसाइकलको सङ्ख्या बढी रहेकोे छ ।  युवाले चलाएका ती सवारीसाधन तीव्ररूपमा गुड्ने पाइएकाले गुडाउने रफ्तारको बारेमासमेत सचेत गराउँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

 यस्तै दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सडकको अलावा गाउँटोलदेखि विद्यालयसम्म विविध प्रकारका सन्देशमूलक सचेतना कार्यक्रमसमेत अगाडि बढाइएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा ट्राफिक नियमको कार्यान्वयन एवं महिला हिंसा नियन्त्रणलगायतका विषयमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । विद्यालयस्तरमा गई विद्यार्थी माझ लागूऔषधका साथै साइवर अपराध नियन्त्रण एवं बालबालिकाको संरक्षण  समेतका विषयमा  सन्देशमूलक ज्ञान प्रदान गरिएको प्रहरी जनाएको छ ।

धुञ्चे, स्याफ्रबेँेसीँ, टिमुरेको साथै आमाछोदिङ्मो तथा नौकुण्ड गाउँपालिकाको केही विद्यालयमा सचेतना गराउने कार्य सम्पन्न भएको छ । ट्राफिक प्रहरीद्वारा सवारी साधनसम्बन्धी  र नेपाल प्रहरीले कूलतबाट जोगाउन सानु उमेरबाटै विद्यालयस्तरदेखिनै दिएको ज्ञानले  समुन्नत समाज निर्माणमा योगदान पुग्ने र यस्ता कार्यक्रमले निरन्तरता पाउनेमा सम्पूर्ण अभिभावक आशावादी रहेको समाजसेवी भवनाथ पौडेलले जानकारी दिनुभयो । 

समाजमा हुने अपराध न्यूनीकरण गर्न प्रहरी अहोरात्र खटिरहेकोले जिल्लाभित्र कुनै प्रकारका अपराध भएमा वा हुने सम्भावनाको सङ्केत देखिएमा कार्यालयलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!