रौतहटमा शंकास्पद अवस्थामा महिलाको शव फेला

Posted on: 17 Apr, 2018

वैशाख ४ रौतहट | यहाँ एक महिलाको गए राति शंकास्पद मृत्यु भएको छ । 

कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुकेश चौरसियाकी श्रीमती २५ वर्र्षीया सीमादेवीको शव घरभन्दा करीब २०० मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ । 

उनको मृत्युको कारण खुल्न नसके पनि घटना अति नै शंकास्पद रहेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्नुभएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । 

थप अनुसन्धान तथा सोधपुछका लागि सीमाकी सासू रम्भादेवीलाई नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । 

मुकेश पछिलो चार महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको पीडित परिवारले जनाएको छ ।

सीमाका घरमा सासू र एक दृष्टिविहीन ससुरा छन् । 

बिहान एक छिमेकीले आएर सीमा घर छेउका खेतमा मृतावस्थामा रहेको बताएपछि जानकारी भएको मृतककी सासू रम्भादेवीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले शव परीक्षणको प्रतिवेदन नआएसम्म केही बताउन नसकिने बताउनुभयो । सीमाको तीन वर्षअघि बिहे भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!