रोल्पाको च्याउले बजार पाएन

Posted on: 21 Aug, 2018

भदौ ५, रोल्पा | आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ । 

सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो । सो खेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ । 

दैनिक २५ देखि ५० किलोसम्म उत्पादन दिन थाले पनि स्थानीय बजारमा च्याउ थोरै बिक्री भएको छ । जिल्लाका साना ठूला बजार खोजिएको तर वर्षात्का कारण सडक अवरुद्ध हँुदा अन्यत्र पठाउँन सकिएको छैन । च्याउको बजार मूल्य सदरमुकाम लिवाङमा प्रतिकिलो रु ४०० रहे पनि थवाङमा भने रु १५० मा दिँदा समेत बिक्री हुन नसकेको प्रधानाध्यापक कूलबहादुर वलीले बताउनुयो । 

“सानो बजारका कारण उत्पादित च्याउ खपत हुन सकेन, संरक्षण र भण्डारण गर्ने प्रविधि तत्काल उपयोग गर्न नसकेपछि च्याउ कुहिएर जाने भए,” वलीले भन्नुभयो । स्थानीय प्रविधिबाट च्याउको सुकुटी बनाउने प्रयास असफल भएको बताइएको छ । धेरै प्रयास गर्दा पनि च्याउ कुहिनबाट बचाउन नसक्दा रु दुई लाख बढीको क्षति भएको उहाँले बताउनुभयो । 

यस वर्ष च्याउ कुहिए पनि आगामी वर्ष विशेष तयारीसाथ ठूलो परिमाणमा खेती गर्ने विद्यालयले जनाएको छ । प्रविधिमैत्री उत्पादन र बजारीकरणलाई साथसाथै जोडेर उत्पादनमा ध्यान दिने वलीले बताउनुभयो । थवाङलाई अर्गानिक गाउँ घोषणाका लागि प्रमाणीकरणको काम भइरहेकाले विद्यालयले उत्पादन गरेको च्याउ तथा तरकारी रसायनिक र विषादीमुक्त रहेको बताइएको छ । 

च्याउखेतीको राम्रो सम्भावना रहेको थवाङमा उत्पादित च्याउ सुकाएर पछि बिक्री गर्ने प्रविधि जरुरी रहेको विद्यालयले जनाएको छ । विद्यार्थीले गर्ने प्रयोगात्मक अभ्यासबाट निरन्तररूपमा च्याउ उत्पादन हुने भएकाले बजारको खाँचो रहेको बताइएको छ । सानातिना काममा सरकारको मुख नताकी विद्यालयमा गरिने यस्ता उत्पादनमूलक कामले विद्यालयको आत्मनिर्भरता बढाउने स्थानीय शिक्षाप्रेमी बताउँछन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!