रोल्पा : दश बुँदे घोषणापत्र जारी

Posted on: 24 Feb, 2019

फागुन १२, रोल्पा (रासस) | रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बुंदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो ।

स्थानीय सरकार गठनपछि पहिलो पटक आयोजित उक्त विकास सम्मेलनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै अन्य विकास साझेदारको सहभागितामा सो घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा विकासको मेरुदण्डका रूपमा शहीदमार्गलाई प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ । 

जारी घोषणापत्रमा स्वर्गद्वारी महाप्रभुको जीवनीसँग जोडिएका सम्भावनालाई उजागर गरी सदुपयोग गर्ने, रुन्टीगढी गाउँपालिकाभित्रको भौतिक सामिप्यता र व्यापारिक सम्बन्ध भएका अन्य गाउँपालिकासँग सहकार्य गरी त्यसको लाभ सबैले पाउने व्यवस्था गर्ने, गाउँपालिकाभित्र विद्यमान आर्थिक, सांस्कृतिक सम्पदालाई स्वर्गद्वारी अन्य पर्यटकीयस्थलसँग आवद्ध गरी पर्यटन विकासमा पहल गर्ने रहेको छ । घोषणापत्रमा सामाजिक र भौतिक विकासलाई सघाउने, जलवायु परिवर्तन र दिगो विकासमा ध्यान दिने, विकासको प्रतिफलमा जनतालाई सन्तुष्ट बनाउने गरी योजना तय गर्ने, होलेरी पर्यटन विकासका लागि जनशक्ति विकास गर्ने लगायत घोषणापत्रमा समेटिएका छन् । 

तत्कालीन माओवादीले दश वर्षे सशस्त्र युद्धको घोषणा गर्दा सोही स्थानको प्रहरी चौकीमा आक्रमण भएपछि होलेरी एकाएक चर्चामा आएको थियो । सोही स्थानबाट विकासको वहस थालनी हुनुले देश अब समृद्धिको दिशातर्फ अघि बढेको सम्मेलनमा बोल्ने वक्ताहरुको धारणा थियो । 

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले होलेरी क्षेत्रबाट पहिलो पटक जनयुद्ध शुरु भएकाले यस क्षेत्रलाई युद्ध पर्यटनको रूपमा विकास गर्न सकिने बताउनुभयो । हिलस्टेशन, कृषि ‘हब’ र पर्यटकीय क्षेत्र स्वर्गद्वारीसँग होेलेरीलाई जोड्न सके यस क्षेत्रको विकास र समृद्धि हुने मन्त्री पुनको भनाइ थियो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, राष्ट्रियसभा सदस्य मीना बुढालगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा प्रदेश योजना आयोगका पदाधिकारी, पर्यटन र विकासका जानकारसमेतको उपस्थिति रहेको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!