रोल्पा जिस्वाकामा आमा बचाउँने क्रममा नवजात शिशुको मृत्यु

Posted on: 06 May, 2017


बैशाख २३, रोल्पा | सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जङ्कोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात शिशुको शुक्रबार प्रसूति गराउने क्रममा निधन भएको छ । 

शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा नजिर खानले जानकारी दिनुभयो ।


उहाँका अनुसार शिशुको टाउकामा दुई पटक नाल बेरिएको र साल पाठेघरको भित्री भागमा टाँसिएर बस्नाका साथै शिशु धेरै ठूलो भएको हुँदा सहजै जन्मन सकेन । पाठेघरको मुख खुलिसकेका कारण शल्यक्रिया गर्न नमिल्ने र त्यस्तो अवस्थामा बाहिर सिफारिस गर्न नमिल्ने भएपछि थप समस्या निम्तिएको थियो । 

निकै जोखिम अवस्थामा सुत्केरी भएकी वलीको अधिक रक्तश्राव भएका कारण जिल्ला अस्पतालका ल्याब टेक्निसियन विजयकुमार शाहले सुत्केरी वलीलाई एक पिन्ट रक्तदान गर्नुभएको थियो । रक्तदानपछि थप उपचारका लागि सुत्केरी वलीलाई आज बिहान २ बजे भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । “निकै प्रयास गर्दा पनि अभिभावकलाई जीवित बच्चा बुझाउन सकिएन तर अथक प्रयासबाट आमाको ज्यान बच्यो यो नै खुसीको कुरा हो”, डा खानले भन्नुभयो । 


वलीका तीन सन्तान उल्टो नै जन्मिएको आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा पटक पटक स्वास्थ्यकर्मी तथा त्यहाँका कर्मचारीले नै रगत दिने गरेको अस्पतालले जनाएको छ । डा खानका अनुसार चालु आवमा मात्र जिल्लामा दुई महिलाले इक्ल्याम्सियाका कारण ज्यान गुमाएको तथा करिब सात महिनामा १५ गर्भ तुहिएका छन् । 

करिब सात महिनाका अवधिमा ४० गर्भवतीको सफल शल्यक्रिया भएको छ । स्वास्थ्यकर्मीका अनुसार रोल्पामा अन्धविश्वासका कारण अझै पनि जोखिम निम्तिएपछि मात्र अस्पताल आउने गरेका छन् । सुरु सुरुमा धामीझाँक्रीकै भर पर्ने र अवस्था जोखिम भएपछि अस्पताल आउने बिरामीको सहज रुपमा उपचार हुन नसक्ने डा खानले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!