माओबादी केन्द्र लोभी पापीको झुण्ड हो: गुरुङ

Posted on: 23 Nov, 2017

कविता उपाध्याय/मङ्सिर ७, रोल्पा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य धनराज गुरुङले माओबादी केन्द्र लोभी पापीको झुण्ड भएको आरोप लगाउनु भएको छ । 

लोकतान्त्रीक गठबन्धनद्वारा सुवर्णावती गाउँपालिका ४ सुलिचौर रोल्पामा मंगलबार  सम्पन्न चुनावी सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । यसैवीच दशवर्षे सशस्त्र युद्धको स्मरण गर्दै गुरुङले भन्नुभयो “ तत्कालिन माओबादीले हामीले बनाएका संरचनाहरु जनयुद्धका नाममा भत्काए ।  युवाहरुलाई कलम खोसेर बन्दूकको आडमा भिडन्तमा अघि सारे । बुर्जुवा शिक्षाका नाममा स्कूलहरु भत्काइए, पुस्तकहरु जलाइए, स्वास्थ्य चौकी, पुल–पुलेसा तथा बाटाघाटाहरु बाँकी रहेनन् । 


देशलाई विनाशतर्फ धकेलिरहेकै बेला,  युद्ध रोकेर शान्ति प्रकृयामा ल्याउनका लागि १७ हजार मान्छेको आहालमा होली खेलेर निष्किएका  प्रचण्डलाई  कांगे्रसको पहलमा गणतान्त्रीक मुलुकको पहिलो प्रधानमन्त्री बनाइयो ।  तर उनले जनतालाई संविधान दिन सकेनन् । जसका कारण नेपाली कांग्रेसकै नेतृत्वमा संविधान निर्माण भयो ।” 

तरपनि अझै जनताका नाममा राजनीति गरेको भन्नेहरुले जनतालाई भ्रम बाँड्न छोडेका छैनन् ।” रोल्पाली जनता अबपनि भ्रममा परे देश खतरामा जाने गुरुङले संकेत गर्नुभएको छ  “हामीले बनाएका संरचना भत्काउदै र विगार्दै जाने अनि काम गरेन भनेर हामीलाई उल्टो आरोप लगाउने ? कति सम्मको सत्य हो जनताले आफैले मूल्यांकन गर्नेबेला आएको छ, उहाँले भन्नुभयो ।  


फुटेको घंैटोमा चौविसै घण्टा पानी भरेपनि  पोखिएर जाने बताउदै पटक पटक फुटेको पार्टीलाई मत खसाल्दा  जनताको मतपनि त्यसैगरी पोखिएरै छताछुल्ल हुने उहाँले बताउनु भएको छ । यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस रोल्पाका सभापति तथा  सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले जनयुद्धका नाममा जनताले विगतमा पाएको दुःख दोहोरिन नहुने बताउनु भएको छ । 

उहाँले सर्वहाराका नाममा राजनीति गर्नेहरुले आफू र आफ्नो परिवारको मात्र भविष्य सुनिश्चित गरेको आरोप लगाउनु भयो । विगतदेखि हालसम्म पनि समृद्ध रोल्पा बनाउने बहानामा रिङरोड र केवुलकारको सपना भोटमाग्ने दाउँमात्र भएको आरोप समेत लगाउनु भयो । 


कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभाका लागि राप्रपाका समानुपातिक उम्मेदवार बालाराम घर्तीमगरले लोकतान्त्रीक गठबन्धनले जीतेमात्र रोल्पालीको भाग्योदय हुने बताउनु भएको छ । उहाँले रोल्पाली जनताको भाग्य रेखा कोर्ने सुनौलो अवसर आएका बेला सचेत र गम्भीर हुन समेत सबै रोल्पाली जनतालाई अनुरोध गर्नुभएको छ ।

छुट्टाटुट्टै रुपमा दुइदिनसम्म चलेको कार्यक्रममा पूर्व राज्य मन्त्री सुरेन्द्र हमाल, पूर्व सहायक मन्त्री भिमकुमारी बुढा, पूर्व सांसद लेखनाथ आचार्य, नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, पूर्व सभापति माधवप्रसाद आचार्य, राप्रपाका जिल्ला अध्यक्ष गिरबहादुर महरा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष अमरबहादुर थापा, नेपाली कांग्रेसका प्रत्यक्ष तथा समानुपातिकका उम्मेदवारहरु शेरबहादुर महरा, मनोजमणि आचार्य, टिकाकुमारी बुढा लगायतले बोल्नुभएको थियो । 

नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सिमबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका क्षेत्रिय अध्यक्ष तुकमान विष्टले स्वागत मन्तब्य राख्नुभएको थियो भने गञ्ज क्षेत्रीले कार्यक्रमको संचालन गर्नुभएको थियो । 

सोमबार होलेरी र मंगलबार सुलिचौरमा सम्पन्न कार्यक्रममा ३ दर्जन बढी माओबादी केन्द्रका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।कार्यक्रममा ठूलोसंख्यामा रोल्पाली जनताको उपस्थिति रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!