सदरमुकाममै कुपोषित छन् बालबालिका

Posted on: 23 May, 2017

(उमा केसी) | जेठ ९, रोल्पा | सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवन मरणको दोसाँधमा छन् । यसरी कुपोषित हुने बालक हुन् –विवेक विक । उमेर दुई वर्ष भएपनि उनी बस्न सक्दैनन् । 

बाबु श्यामलाल विक मजदुरी गर्न बिहानै बजारतिर जान्छन् । बाबु मजदुरीबाट नफर्कुञ्जेल बन्द कोठामा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन् । भोक प्यास लागेपनि उनलाई खान दिने न कोही हुन्छ न त खाने कुरा नै । 

दाजु विकास विवेकभन्दा एक वर्ष मात्र जेठा छन् । भाइलाई कोठामै राखेर घरको ढोका बन्द गरी बुबा गएपछि विकास पनि बाहिर धुलो र ढुङ्गालाई साथी बनाएर दिनभरि खेलिरहन्छन् । बाबु समयमै घरमा आए खान पाउँछन् नत्र उनी पनि दिनभर भोकभोकै हुन्छन् । 

चालीस वर्ष उमेर पुगिसकेका श्यामलालले चार वर्षअघि मिझिङ रोल्पाकी अप्सरा कामीसँग विवाह गरे । सुनार दम्पतीले दुई छोरा जन्माए । वर्षौंते दुई छोरा जन्माए पनि आर्थिक समस्याका कारण उनीहरुले राम्रोसँग स्याहार गर्न सकेनन् जसका कारण दुवै छोरालाई कुपोषण भयो । 

विभिन्न निकायको सहयोगमा कुपोषित छोरालाई शिशु स्याहार केन्द्र दाङमा लगी भर्ना गरे । पोषण पुनःस्थापना केन्द्रमा दुई महिना बसेका उनीहरु पोषित भएपछि श्यामलालले घर फिर्ता लिएर आए । छोराहरुलाई घरमा ल्याए पनि श्रीमती भने घरमा थिइनन् । श्रीमतीका बारेमा लामो समयसम्म सोधीखोजी गरे । “कसैले काठमाडौँमा इँटाभट्टामा काम गर्न गएको भनिदिए भने कसैले पोइल गई भने, तर म भने छोराको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहेँ, तर चार महिना बितिसक्दा समेत श्रीमती आइन,” उनले दुखेसो पोखे । 

छोराहरुलाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने ? घरमा कोही छैनन्, काममा जाँदा छोराहरुको स्याहार गर्ने मान्छे हँुदैन । छोराको स्याहार गर्न घरमा बस्दा भोकभोकै बस्नुपर्छ । सुनारले गम्भीर हुँदै भने । 

नगरपालिकाले दलित बालबालिकाको पोषण सुधारका लागि मासिक रु २०० भत्ता दिने भएका कारण दुई छोराको भत्ताबाट केही दिन गुजारा चल्ने गरेको उनले बताए । नगरपालिकाले दिएको रु तीन हजार २०० भत्ताबाट रु एक हजार ५० को चामल लिएर खाइरहेका छौँ । बचेको भत्ता चाडपर्वमा मासु खाँदा लागेको ऋण तिर्दा सकिएको उनले बताए । 

बालबालिकाको ८० प्रतिशत दिमागको विकास दुई वर्षमुनि नै भइसक्ने भनिएपनि विकास र विवेक सुनारले भने पेटभरि खान समेत पाइरहेका छैनन् । पोषण र बालअधिकारको क्षेत्रमा काम गर्ने बग्रेल्ती सङ्घसंस्था भएपनि विकास र विवेक भने खान नपाएर जीवनमरणको दोसाँधमा छन् । 

पोषण सप्ताह भन्दै तारे होटेलमा ठूलठूला कार्यक्रम भइरहेको विचरा विकास र विवेकलाई के थाहा ! बाबुले मजदुरी गरेर ल्याएको पैसाले किनेको सडेको चामलको भात नै अबोध विकास र विवेकको ‘पोषण’ हुने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!