रोल्पामा गोली चल्यो, तरूण दलका नेताको हत्या

Posted on: 09 Sep, 2018

भदौ २४, रोल्पा । रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिवाङ  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष हुन् ।

भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चल्दा पुनको देब्रे छातीमा लागेको थियो । घटना लगतै उनलाई स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको थियो ।

गोली चलाएको आरोपमा रोल्पा नगरपालिका-१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ ।


घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच कांग्रेसले घटनाको भत्र्सना गरेको छ । कांग्रेसको विज्ञप्तिमा लिवाङस्थित इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भएको समेत आरोप लगाइएको छ ।हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छः ‘प्रहरीले मुकदर्शक भएर बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद छ । यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!