यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

Posted on: 12 Jul, 2019

असार २७, रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् ।

‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’

२२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ ।

बस्तीमुनि चालवाङ खोला सुसाइरहेको छ । गाउँलेका अनुसार ठाडो खोलामा आउने भेलले बर्से्नि बस्तीको तल्लो भूभाग कटान गर्दै आएको छ। २०४५ सालयता बस्तीको पुछारमा पहिरो जान थालेको सुनछहरी गाउँपालिका–२ का वडाध्यक्ष टेमन घर्तीमगर बताउँछन् ।

पहिरोपीडित थमन बुढाका अनुसार पटकपटक वर्षात्मा गरी चालवाङका १० वटा घर पुरिएका छन्। बर्खामा बस्ती छाड्नाले मानवीय क्षति भएको छैन ।

गाउँमा पहिरो जान थाल्दा देशमा पञ्चायती व्यवस्था थियो। बहुदल आयो। गणतन्त्रसमेत आयो । तर, चालवाङवासीको दुःख हटेको छैन । बस्ती पहिरोको जोखिममा परेपछि गाउँले घरबारी माया मारेर गोठतिर बसाइँ सर्छन् ।‘यस वर्ष पनि मकैबाली लगाएर गाउँले अग्ला डाँडाका गोठतिर उक्लिसकेका छन्’, स्थानीय स्वास्थ्यकर्मी दिया घर्तीमगर भन्छिन् ।

पहिरो जानुअघि चालवाङमा ६२ घरपरिवार थिए । तीमध्ये ४० घरपरिवार विस्थापित भइसकेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खेमबहादुर बुढाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!