रोल्पामा घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

Posted on: 24 Oct, 2019

कात्तिक ७, रोल्पा | तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । 

रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताउनुभयो । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिनुभयो । 

उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ । उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैं तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा  अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!