रोल्पामा आँखाका बिरामी बढ्दै

Posted on: 02 Nov, 2020

कात्तिक १७, रोल्पा । रोल्पामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ । 

विसं २०७५ मा तीन हजार ३९० जना बिरामीले आँखा परीक्षण गराएका थिए । यसरी परीक्षण गराएका मध्ये ६२ जनाले सामान्य शल्यक्रिया गरेका थिए । आँखामा मोतियाविन्दुको समस्या देखिएका १६८ जनाले शल्यक्रिया गरेका हुन् । गत वर्ष चार हजार ५६१ जनाले आँखाको परीक्षण गराएका थिए । यसरी परीक्षण गराएकामध्ये ११५ जनाले सामान्य शल्यक्रिया गरेका थिए । यसैगरी ३०५ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेका थिए । 

यो सङ्ख्या चालु वर्षमा झनै बढेको देखिएको छ । चालु वर्षको कात्तिक १५ गतेसम्म दुई हजार ३८१ जनाले आँखाको परीक्षण गराएका छन् । यसरी परीक्षण गराएकामध्ये १०२ जनाले सामान्य शल्यक्रिया गरेको र अन्यले औषधि तथा चश्मा प्रयोग गरेको सामुदायिक आँखा केन्द्र रोल्पाले जनाएको छ । 

लामो समयसम्म भएको बन्दाबन्दीमा बालबालिकादेखि बुद्धबुद्धाले समेत मोबाइलको अत्यधिक प्रयोग गरेका कारण आँखाका विरामी बढेको हुनसक्ने सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज मिलन खत्रीको भनाइ छ । बन्दाबन्दीको अवधिमा दैनिक पाँच/सात जना बिरामी आउने गरेकामा अहिले यो सङ्ख्या दिनहुँ ३०/३५ पुगेको खत्रीले बताउनुभयो । 

दृष्टिदोष, बालबालिकामा आँखा रातो भएर चिलाउने, चोटपटक लाग्ने, मोतियाविन्दु, जलविन्दु, मधुमेह र उच्च रक्तचापजस्ता समस्या लिएर बिरामी आउने गरेको सामुदायिक आँखा केन्द्रले जनाएको छ । यसरी उपचार गर्नेमध्ये अधिकांश जिल्लावासी भएपनि छिमेकी जिल्ला प्यूठानबाट समेत आउने गरेको केन्द्रको भनाइ छ । 

रोल्पा नगरपालिका—२ निवासी चिन्तामणि आचार्यले दान दिएको जग्गामा बनेको भवनबाट २०७३ सालदेखि सेवा दिइएको छ । भवन निर्माणका लागि अमेरिका—नेपाल सहयोग मेडिकल फाउण्डेशनले सो भवन निर्माणमा सहयोग गरेको थियो । सेवा केन्द्रमा पाँच जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । 

आँखा केन्द्रले बिरामी परीक्षण, सामान्य शल्यक्रिया, शिविरमार्फत मोतिया विन्दुको शल्यक्रिया, चश्मा तथा औषधि वितरण र परामर्श सेवा दिदै आइरहेको छ । जिल्लामै यो सेवा उपलव्ध भएपछि जिल्ला बाहिर जानुपर्ने समस्याबाट मुक्त भएको परिवर्तन गाउँपालिका–३ की गङ्गासरी बुढाले बताउनुभयो । मोवाइल तथा कम्युटरको बढी मात्रामा प्रयोग गर्दा पटकपटक आँखामा समस्या देखिने गरेको बुढाको भनाइ छ । लामो समयपछि आँखा केन्द्रबाट सामान्य सेवा पाइरहेका जिल्लावासीले विशेषज्ञसहितको अस्पतालबाट यो सेवा उपलब्ध भए थप सहजता हुने स्थानीय समाजसेवी नन्दकुमार आचार्यले बताउनुभयो । रासस 







यस बिषयमा तपाइको प्रतिक्रिया...!