रोजगार कार्यक्रमबाट साढे चार हजारलाई रोजगारी

Posted on: 30 Jul, 2020

मनिष खड्का | साउन १५, रुकुम | रुकुमपश्चिममा आर्थिक वर्ष २०७६/७७ मा साढे चार हजार बढीले रोजगारी पाएका छन् । 

सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाका साढे चार हजार बढी बेरोजगारले केही दिनको रोजगारी पाएका हुन् । 

एक आर्थिक वर्षमा कम्तीमा सय दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात कम्तीमा एक सय दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा २० देखि २५ दिनसम्मको रोजगारी पाएका छन् । 

खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मतसहित क्वारेन्टाइन निर्माणसम्ममा बेरोजगारलाई रोजगारी दिइएको छ । स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत वर्ष जिल्लाभरमा दुई हजार ४१३ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार २६७ गरी कूल चार हजार ६८० जनाले रोजगार पाएका हुन् । 

मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४५० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २८३, चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १०३ र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २८७ तथा आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३०० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २०० बढीले रोजगारी पाएका छन् । 

त्यस्तै बाँफिकोट गाउँपालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सात÷सात सय बढी, त्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ५४५ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ६१३ तथा सानीभेरी गाउँपालकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २४६ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत २५२ जनाले केही दिनको रोजगारी पाएका छन् । 

कम्तीमा एक सय दिनको रोजगारी दिने भनिएपनि जिल्लामा बढी रोजगारी पाउनेले २० देखि २५ दिनको मात्र रोजगारी पाएका छन् । बजेट कम भएको र वेरोजगारको संख्या बढी भएका कारण सबैलाई रोजगारी दिनुपर्दा वेरोजगारहरुले कमै दिन रोजगारी पाएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले बताउनुभयो । 

त्यस्तै यो वर्ष लकडाउनका कारण बेरोजगारको सुचिमा सूचिकृत भएका भन्दा अरु व्यक्तिले पनि काम गरेकाले भने जति रोजगारी दिन नसकिएको उहाँको भनाइ छ । मुसीकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ७१ लाख ८० हजार र मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाख बजेट खर्च गरेको छ । 

चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममा रु एक करोड तीन लाख ७८ हजार र प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ३८ लाख २६ हजार तथा आठबीसकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ६६ लाख ८९ हजार र मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाख ४० हजार खर्च गरेको जनाएको छ । 

बाँफिकोट गाउँपालिकाले मुख्यमन्त्री रोजगारका लागि रु एक करोड तीन लाख ७२ हजार र प्रधानमन्त्री रोजगारका लागि रु ४२ लाख ८८ हजार, त्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री रोजगारका लागि रु ५६ लाख ३६ हजार र मुख्यमन्त्री रोजगारका लागि रु ३६ लाख चार हजार १० तथा सानीभेरी गाउँपालिकाले मुख्यमन्त्री रोजगारमा रु ६४ लाख र प्रधानमन्त्री रोजगारमा रु ५३ लाख ७२ हजार खर्च गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!