रुकुममा उद्योग दर्ता हुने क्रम बढ्यो

Posted on: 16 Aug, 2016

गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुममा वितेको आर्थीक वर्षमा १०४ ओटा व्यक्तिगत फर्म र एउटा प्रालि सहित १०५ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु उद्योग ३ ओटा र साना उद्योग १०२ ओटा गरी कुल १०५ ओटा उद्योग दर्ता भएका हुन् । 

जसमा उत्पादन मुलक ११ ओटा, कृषि तथा वन जन्य ५४ ओटा र सेवामुलक ४० ओटा रहेका छन् । आर्थीक वर्ष २०७१÷०७२ को तुलनामा वितेको आर्थीक वर्ष २०७२÷०७३ मा २० ओटा बढी उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रुकुमले जनाएको छ । 

समितिका अनुसार ०७१÷०७२ मा जिल्लामा ८५ ओटा उद्योग दर्ता भएका थिए । गतवर्ष दर्ता भएका उद्योगबाट १६५ महिला र १८२ पुरुषले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ५ लाख २१ हजार २ सय ४४ रुपैंया राजश्व संकलन भएको उद्योग अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यसैविच गत वर्ष २६५ ओटा विभिन्न व्यापारिक पसलहरु दर्ता भएका छन् । जसबाट ४० जना महिला र १८५ जना पुरुषले रोजगारी पाएका छन भने १० लाख ५० हजार ७ सय ४० रुपैंया राजश्व संकलन भएको छ । 

कानुनी रुपमा व्यवशाय दर्ता गर्नुपर्छ भन्ने चेतनाको विकास भएका कारण जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको उद्योग अधिकृत आचार्यले बताउनुभयो । विभिन्न सेवा सुविधा पाउन सजिलो हुने र बिदेशबाट फर्केका युवाहरु व्यवशायतर्फ आकर्षित बनेका कारणपनि उद्योगहरु थपिएको उहाँको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!