माओवादी केन्द्र र एमाले रुकुमद्वारा उम्मेदवारको टुङ्गो

Posted on: 23 May, 2017

जेठ ९, रुकुम | आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भयो भने बाँकी तीनवटा स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुँदैछ । 

दोस्रो चरणमा निर्वाचन हुने सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिका सबैमा उम्मेदवारको टुङ्गो लगाएको दुवै पार्टीले जानकारी दिएका छन् । 

यी गाउँपालिकामध्ये नेकपा (माओवादी केन्द्र) पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश घर्ती, उपाध्यक्षमा ओमकुमारी शाही मल्ल, भुमे गाउँपालिकाको अध्यक्षमा रामसुर बुढा, उपाध्यक्षमा मञ्जु विष्ट र सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल, उपाध्यक्षमा गोवद्र्धन बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभएको छ । 

यस्तै, एमालेले पनि सिस्ने गाउँपालिकाको अध्यक्षमा नन्दलाल शर्मालाई, उपाध्यक्षमा नुमेन्द्रा खड्कालाई, भुमे गाउँपालिकाको अध्यक्षमा आशा स्वर्णकार, उपाध्यक्षमा कमानसिङ डाँगी र पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा भिउमान घर्ती र उपाध्यक्षमा सीता घतानलाई टिकट दिने निर्णय गरेको एमाले प्रचार विभाग उपसंयोजक कर्णबहादुर ओलीले जानकारी दिनुभयो । 

अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेपछि दलहरु वडा अध्यक्ष र सदस्यको टुङ्गो लगाउने तयारीमा जुटेको बताएका छन् । नेपाली काँग्रेसले भने छलफलमा रहेकाले अबको एक/दुई दिनमा सबै उम्मेदवारको टुङ्गो लाग्ने बताएको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्य सबैको एक साथ टुङ्गो लगाउनु पर्ने भएकाले केही दिन ढिला भएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!