जर्नादन शर्मालाई लक्षित गरी २ वटा बम प्रहार (विज्ञाप्ति सहित)

Posted on: 10 Nov, 2017

कात्तिक २४, रुकुम | प्रतिनिधि सभाका उम्मेदवार तथा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार भएको छ । 

रुकुमको चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर करिव बिहान ९ बजेतिर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेका शर्मा सहितको टोलीलाई सडकमाथिबाट सुतली बम प्रहार गरिएको हो । सुरक्षाको उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जनाएको छ । एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम रेडबुलको बट्टामा राखिएको थियो ।

चुनावी प्रसार टोलीलाई लक्षित गरि कसले बम हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताएका छन् । बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको आशंका गरिएपनि पुष्टि भने हुन सकेको छैन ।

एमाले माओवादीको बिरोध  

उम्मेदवार शर्मा र उनको प्रचार टोलीमाथि लक्षित गरी हानिएको बम प्रहारबिरुद्ध एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध समेत जनाएको छ । उनीहरुले बिज्ञप्ती मार्फत उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!