पूर्वी रुकुम माओवादीको कब्जामा, प्रदेश र प्रतिनिधिसभाका सबै सिटमा बिजयी

Posted on: 08 Dec, 2017

मंसिर २२, रुकुम । पूर्वी रुकुमबाट तीनै क्षेत्रमा बिजयी बन्दै नेकपा माओवादी केन्द्रले बिजयी सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका हुन् ।

रुकुममा प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । यहाँ रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतान्तरले हराइन् ।

रोकाले १० हजार ४३४ मत पाउँछ उनका निकटतम प्रतिद्वन्दी घर्तीले ४ हजार ४०६ मत ल्याएका थिए । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्य बनेकी छन् ।

यस्तै यहाँ नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४८९ मत पाएका छन् । 

त्यस्तै रुकुम पुर्वको प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । यहाँको क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’५ हजार ४२७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाए ।

त्यसैगरी, प्रदेशसभा (ख) मा माओवादी केन्द्र कै पूर्णबहादुर घर्ती ‘आयाम’५ हजार ८१६ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!