पानीघट्टबाट मनग्य आम्दानी

Posted on: 19 Sep, 2018

असोज ३, मुसिकोट | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । 

साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पुगेको छ । थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने स्थानीयवासी निर्मल चन्दले बताउनुभयो । पानीघट्टको आम्दानीले बालबालिकाको पढाइ लेखाइमा समेत सहयोग पुगेको उहाँको भनाइ छ । 

एक दशक अघिदेखि घर नजिकै पानीघट्ट सञ्चालन गर्नुभएका सेरमान खड्का सोचेभन्दा बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । “पानीघट्टकै आम्दानीले घरखर्च चलाउन सजिलो भएको छ,” उहाँले भन्नुभयो । यहाँका पानीघट्टमा गहुँ र मकै पिसानी गरेबापत घट्ट सञ्चालकलाई सोअनुसारको पीठो दिने प्रचलन छ । पानीघट्टमा दैनिक २० पाथीभन्दा बढी मकै र गहुँ पिस्ने गरिन्छ । पानीघट्टकै आम्दानीबाट कतिपय घट्ट सञ्चालकले गहुँ र मकै बिक्री गर्ने गरेका छन् । 

नगदेबाली तथा तरकारी उत्पादनका हिसाबले त्रिवेणी गाउँपालिकाको मुरु र पेउघालाई पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । वडा नम्बर ७, ८, ९, र १० का झण्डै एक हजार ८०० घरधुरीले यहाँका पानीघट्टमा गहुँ, मकै र कोदोलगायत अन्न पिस्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!