रुकुममा आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षबाट महिला सदस्य कुटिइन्

Posted on: 20 Feb, 2019

फागुन ८, रुकुम पूर्व । रुकुममा आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट एक महिला कुटिएकी छन् । रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ का वडाअध्यक्षले हेलमेटले हानेर महिलालाई घाइते बनाएका हुन् ।

वडाध्यक्ष जयकुमार बुढाले निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढामाथि कुटपिट गरेका हुन् ।

गएको आइतबार बिहान ११ बजे वडाध्यक्ष जयकुमार बुढा र निर्माण उपभोक्ता समिति सदस्य जयपुरी बुढाबीच विवाद भएको थियो । छलफलका क्रममा विवाद हुँदा वडाध्यक्षले एक्कासि हेलमेटले टाउकोमा हानेर घाइते बनाएको हुन् । गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्दै वडाध्यक्षले हातपात गरेको पीडितले बताएका छन् ।  

वडाध्यक्ष जयकुमार बुढाले प्राविधिक स्टमेटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने भए पनि त्यसो हुन नसकेकोमा आपत्ति जनाउँदा विवाद भएको तर हातपात नगरेको बताए। 

विवादका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफूमाथि ढुंगामुढा गरेको आरोप लगाउँदै उहाँले आफू जोगिन खोज्दा कसैलाई धकेलिएको हुन सक्ने भन्दै आफ्नो बचाउ समेत गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!