हिमपातले रोल्पा हुँदै रुकुम जोडिएको शहीद मार्ग सडक अवरुद्ध

Posted on: 03 Mar, 2019

फागुन १९, रुकुमपूर्व (रासस) | पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ । 

शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि भूमे गाउँपालिका–२ काँक्रीदेखि दाङ घोराहीसम्मको सो मार्ग भएर चल्ने यातायातका साधन ठप्प छन् । हिमपातले ठाउँठाउँमा सडक अवरुद्ध गरेपछि शहीदमार्गको काँक्री–घोराही खण्डमा डेढमहीनादेखि यातायातका साधन चल्न सकेका छैनन् । 

पहिलो पटक हिमपात भएदेखि नै सो सडकमा यातायातका साधन चल्न नसकेको भूमेगाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । हिमपातले बाटो अवरुद्ध भएपछि विशेष गरी भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीले घोराही पुग्न रुकुम (पश्चिम) को बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । 

हिमपातले काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हुँदै शहीद मार्गबाट दाङको घोराही पुग्ने यात्रु रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट हुँदै राप्ती राजमार्गबाट दाङ पुग्न बाध्य छन् । यसरी यात्रा गर्दा बाटो लामो पर्ने र भाडा पनि महङ्गो पर्ने यात्रुले बताएका छन् । 

काँक्रीबाट शहीद मार्ग भएर जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने भए पनि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किमी दुरी पार गर्नुपर्ने बाध्यता रहेको यात्रु मङ्गलबहादुर कामीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!