दश दिनअघिसम्म संक्रमित नभेटिएको प्रदेश ५ का ५३ जनामा कोरोना संक्रमण

Posted on: 11 May, 2020

वैशाख २९, काठमाडौँ | प्रदेश ५ मा १० दिनको अन्तरमा ५३ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ मा वैशाख १९ अघि कोहिपनि कोरोनाबाट संक्रमित भएका थिएनन् तर पछिल्ला १० दिनमा प्रदेश ५ सबैभन्दा बढी जोखिममा देखिएको छ ।  

प्रदेश ५ मा आज मात्र २३ जना संक्रमित थपिएका छन् ।  सोमबार (आज) कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका –८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

आज विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज मात्र प्रदेश ५ मा २३ नयाँ संक्रमित थपिएपछि प्रदेश ५ मा मात्र कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । 

प्रदेश ५ का कुन जिल्लामा कति संक्रमित ? 

बाँके :२४ जना संक्रमित 

कपिलवस्तु: २१ जना संक्रमित 

रुपन्देही: ७ जना संक्रमित

बर्दिया: १ जना संक्रमित 

कुल शंख्या: ५३ जना 

यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित भई ३३ जना निको भएर घर फर्किसकेका छन् । प्रदेश ५ का सबै संक्रमित पछिल्लो पटक कोरोना पुष्टि भएका संक्रमित भएका कारण हाल सम्म प्रदेश ५ का कोहिपनि संक्रमित निको भएका छैनन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!