रुकुम–पूर्वमा राडीपाखीको माग बढ्दो, उत्पादन घट्दै

Posted on: 09 Nov, 2020

कात्तिक २४, रुकुमपूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा  चिसो शुरु हुनासाथ अत्यधिक मात्रामा बढ्ने राडीपाखीको कारोबार पछिल्लो समय घट्दै गएको छ । राडीपाखी निर्माण गर्ने क्रम घट्दै गएपछि कारोबार पनि घटेको हो । पछिल्ला केही वर्षयता जिल्लामा भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट तयार पारिने न्यानो कपडाको उत्पादन घट्दै गएको स्थानीयवासीले बताएका छन् । 

स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुहरु पहिले जसरी सहजै रूपमा पाउन मुस्किल हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–६ मयाङका वडाध्यक्ष तोपे सेन ठकुरीले बताउनुभयो । विशेष गरेर राडीपाखी बनाउने चलन घट्दै गएको भन्दै उहाँले छोटो समय र कम मेहनतमै तयार पार्न सकिने सिरक बनाउनतर्फ मानिसहरु आकर्षित भएको बताउनुहुन्छ । एउटा राडी(कम्बल) तयार पार्न १५ देखि २० दिनसम्म लाग्छ, तर सिरक बनाउन थोरै समय लाग्ने भएकाले मानिसले राडीपाखी बनाउन छोड्दै गएको उहाँको भनाइ छ । 

राडीपाखी तयार पार्न झन्झटिलो हुने भएकाले पनि त्यसतर्फ पछिल्लो पुस्ताले ध्यान दिएको छैन । बूढापुराना मानिसहरु सकिँदै गएको, नयाँमा सीप हस्तान्तरण हुन नसक्नु र युवा पुस्ताले पनि सीप सिक्नमा ध्यान नदिएकै कारण राडीपाखी निर्माणको पेशा धरापमा पर्दै गएको वडाध्यक्ष सेनको भनाइ छ  । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडा पालिन्छ । विगतका वर्षमा जिल्लामा असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गरेको थियो । एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु १० हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा–६ मयाङकी पूर्णचरी मल्लले बताउनुभयो । 

भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बजारमा बढ्दै गएको तर उत्पादन घट्दै गएकाले माग अनुसारको राडीपाखी बजारमा पुर्याउन नसकिएको मल्लले बताउनुभयो । जिल्लाको तकसेरा, कोल राङ्सी, मयाङ, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका ठाउँका मानिसहरले राडीपाखी तयार गर्ने गर्दछन् । बजारको माग अत्यधिक र उत्पादन न्यून भएपछि मानिसहरु राडीपाखी खोज्दै घरमै पुग्ने गरेको मयाङका अर्का तारा सेनले बताउनुभयो । 

जिल्लामा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत यहाँ रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!