समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने: अध्यक्ष प्रचण्ड

Posted on: 03 Nov, 2018

कात्तिक १७, बुटवल | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उहाँले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हँुदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताउनुभयो । 

उहाँले भन्नुभयो, “बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको छ ।” विमानस्थल निर्माणको कार्य सन्तोषजनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने रहेको उहाँको भनाइ थियो । 

सो अवसरमा आयोजनाका अधिकृत प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पार्दै ५५ प्रतिशत काम सम्पन्न भएको बताउनुभएको थियो । 

अध्यक्ष दाहालसँगै नेकपा महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वसभामुख ओनसरी घर्तीसहित, प्रदेश सरकारका मन्त्री भैरहवा पुग्नुभएको हो । नेपालीको मुख्य पर्व विजयदशमी, दीपावली, छठ, नेपाल संवत्का अवसरमा नेकपाद्वारा आज बुटवलमा आयोजना गरिने शुभकामना कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!