जनमुक्ति पार्टीको प्रदेश अधिवेशन सम्पन्न

Posted on: 15 Dec, 2018

मङ्सिर २९, रुपन्देही | २७ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिको अधिवेशन बुटवलमा सम्पन्न भएको छ । 

पार्टीले आज बुटवलमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २२ र २३ गते बुटवलमा आयोजना गरेको अधिवेशनका निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जनमुक्ति पार्टीले जारी गरेको घोषणापत्र सार्वजनिक गर्दै महासचिब टोप अस्लामीले प्रदेश नं ५ को नाम लुम्बिनी–थरूहट–मगरात राख्न माग गरिएको बताउनुभयो । उहाँले मुलुकमा भ्रष्टाचारका कारण समस्या सिर्जना भएकाले भ्रष्टाचारीलाई देशद्रोह घोषणा गरी सर्वस्वहरणसहित जन्मकैदको सजाय माग गरेको जनाउनुभयो । 

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग कलकारखानाको विकास गरी लगानीको क्षेत्रमा सरकार, निजी व्यवसायीका साथै स्थानीय समुदायको एकतिहाइ हिस्सेदारी सुनिश्चित गर्न घोषणापत्रमा माग गरिएको छ । 

सबै जाति र लैङ्गिक प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय राष्ट्रपतिमण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण सङ्घीयताको सुनिश्चित गर्न माग गरएिको छ । पार्टीले प्रदेशका ऐतिहासिकस्थल जीतगढी, आदिमानव रामापिथेकसको अवशेष भेटिएको बुटवलको चिडियाखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आग्रह गरेको छ । 

बुटवलदेखि लुम्बिनी, तिलौराकोट, नुवाकोट, बल्ढेङगडी र तानसेन जोड्ने विद्युतीय केबलकार सञ्चालनका लागि पहल गर्न माग गर्दै विद्युतीय सौर्य ऊर्जामा आधारित यातायात सेवालाई पहिलो प्राथमिकता दिन पार्टीले घोषणापत्रमार्फत सरकारसँग माग गरेको छ । 

जल, जमीन, जङ्गल र खानीको उपयोग गर्दा स्थानीयवासीलाई अग्राधिकार दिन, कला संस्कृतिको संरक्षण गर्न, सरकारी र गैरसरकारी संस्थामा महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गर्न, बेरोजगारलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न, उद्योग कलकारखाना, अस्पताल, शैक्षिक संस्था र पर्यटकीय क्षेत्रलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । 

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, सचिव बालकिशोर रानाले प्रदेशलाई समृद्ध बनाउन सबै जाति, भाषाभाषीलाई मिलाएर अगाडि लैजान आवश्यक रहेको बताउनुभयो । प्रदेश अधिवेशनले झमबहादुर गुरुङको अधयक्षतामा ४१ सदस्यीय समिति गठन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!