प्रदेश ५ का मुख्यमन्त्री र चीनको कान्सु प्रदेशका गर्भनरबीच भेटवार्ता

Posted on: 15 May, 2019

जेठ १, रुपन्देही | प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानले मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउँदै सङ्घीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानून निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको जानकारी गराउनुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थल रहेको र ती क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी लाभ लिनेगरी योजनाअघि सारिएको बताउनुभएको उहाँका प्रेस सल्लाकार शेरबहादुर केसीले बताउनुभयो ।

भेटमा द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो । मुख्यमन्त्री पोखरेल र गर्भनर रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्सु  प्रदेशका सांस्कृतिक तथा पर्यटन  निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गर्नुभयो ।

त्यस अवसरमा चीनका कान्सु प्रदेशका गर्भनर रनच्यानले प्रदेश नं– ५ र बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउँदै सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताउनुभयो । 

उहाँले कान्सु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवर्द्धन गरी राम्रो लाभ लिएको जानकारी दिँदै नेपाल आउने स्याउमध्ये आधा भन्दा धेरै कान्सुबाट आउने बताउनुभयो ।

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले हाम्रो हिमाली क्षेत्रमा पनि स्याउको सम्भावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गर्नुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!