पहाडको सुन्तला बुटवल आइपुग्यो

Posted on: 06 Nov, 2016

भरत केसी, कात्तिक २१, बुटवल । आसपासका पहाडी जिल्लामा फलेको सुन्तलाले बुटवल बजार केन्द्रित भएको छ । 

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले औपचारिक रुपमा सुन्तलाको कारोबार सुरु गरेको हो । 

कात्तिकदेखि माघको पहिलो हप्तासम्मलाई सुन्तलाको मुख्य मौसम मानिन्छ । कात्तिक महिना सुरु भएदेखि नै बजारमा सुन्तलाको खरिद÷बिक्री सुरु भए पनि सो केन्द्रले तिहारलगत्तै औपचारिक रुपमा कारोबार सुरु गरेको हो । 

केन्द्रका अध्यक्ष कलाधर पन्थीले अहिले दैनिक ३० देखि ३५ क्विन्टलसम्म सुन्तला केन्द्रमा भित्रिएको जानकारी दिनुभयो । 

“गत वर्षको तुलनामा सुन्तला राम्रो उत्पादन भएको पाइयो”, अध्यक्ष पन्थीले भन्नुभयो – “चार महिने यो छोटो मौसममा केन्द्रबाट रु ३५ करोडसम्मको कारोबार हुने लक्ष्य छ ।” बजारमा अहिले सुन्तलाको थोक मूल्य प्रति किलोको रु ३५ देखि रु ४० सम्म रहेको उहाँले जानकारी दिनुभयो । 

बजारमा सुन्तलाको खुद्रा मूल्य भने रु १०० देखि रु १२० सम्म छ । गत वर्ष करिब ३०० मेट्रिक टन सुन्तला बुटवल झरेकामा केन्द्रबाट मात्र रु ३० करोडको सुन्तलाको कारोबार भएको थियो । अहिले उत्पादन बढेर रु ३५ करोडसम्म पुग्ने केन्द्रको अनुमान छ । 

सो केन्द्रमा गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जाबाट सुन्तला भित्रिने गर्छ । बुटवलमा मात्र अहिले दैनिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेको छ । 

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट तराईका २२ जिल्लासँगै पूर्वमा झापा र पश्चिममा कञ्चनपुर महेन्द्रनगरसम्म सुन्तला पुग्ने गरेको छ । बुटवल बजारमा हुने सुन्तलाको व्यापारमध्ये झन्डै ८० प्रतिशत सुन्तला स्याङ्जाबाट आउने गर्दछ । बुटवलमा नेपाली सुन्तला झरेपछि भारतीय सुन्तला विस्थापित भएको छ । तर नेपाली सुन्तलाको बजार सकिएपछि ९माघपछि० पुनः भारतीय सुन्तला नेपालमा भित्रिने गर्छ । भारतबाट यहाँ प्रत्येक वर्ष रु ५० करोडसम्मको सुन्तला आउने केन्द्रले जनाएको छ । 

अहिले रुपन्देही बजारका चोक चोकमा हरेक ठेलामा सुन्तलाको व्यापार सुरु भएको छ । “जाडो मौसम भए पनि ग्राहकको मुख्य रोजाइ भनेको सुन्तला नै हुन्छ”, बसपार्कमा ठेलामा फलफूलको व्यापार गर्दै आएका तोयानाथ खनालले भन्नुभयो – “जाडो बढ्दै पनि कारोबार दोब्बर हुँदै जान्छ ।” रुपन्देहीको मुख्य बजार बुटवल र भैरहवाका विभिन्न चोकमा सञ्चालनमा रहेका ठेला व्यापारीले पनि अन्य फलफूलको तुलनामा आफूहरुले मौसमका बेला सुन्तला नै बढी बेच्ने गरेको बताए । 

कृषकले भने वर्षेनी सुन्तला बिक्रीबाट आफूहरुले मूल्य पाउन नसकेको किसानले गुनासो गर्दै आएका छन् । किसानबाट प्रतिकेजी रु ३० मा खरिद गर्ने र रु ६० सम्ममा विक्री गरेर बीचमा बिचौलियाले खाने गरेको गुनासो आएको अध्यक्ष पन्थीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!