जमीन भाडामा लिई कृषकलाई दिइने

Posted on: 17 Apr, 2019

बैशाख ४, धम्बोझी (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानबाट नै  समाजवाद वा जनताको जनवाद ल्याइने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगुवा कार्यकर्तालाई बर्दियाको गुलरियामा प्रशिक्षणका क्रममा पार्टी  स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का इञ्चार्ज पोखरेलले राज्यसत्तासँग समन्वय गर्दै कम्युनिष्ट पार्टीका नेताहरु परिस्थितिसँगै बदलिन सक्नुपर्ने र  समाजमा प्रभावकारी नेतृत्व दिनसक्नुपर्ने बताउनुभयो । 

उहाँले बर्दिया संसारकै दोस्रो पर्यटकीय क्षेत्र भएको विचार राख्दै यसलाई नेपालको मुख्य पर्यटकीय क्षेत्र बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  प्रदेश सरकारले जमीन भाडामा लिई बर्दियामा  जमीन नभएकालाई कृषि कर्म गर्नेलाई दिने जानकारी पनि दिनुभयो । “बेरोजगारलाई ५० दिनको भत्ता  र सय दिनको काम दिइने छ”, उहाँले  भन्नुभयो । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तिलक शर्मा, प्रदेश नं ५ का सचिव जगप्रसाद शर्मा, नेता लक्ष्मण ज्ञवाली  प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, सांसद तुलसा थापालगायतले प्रशिक्षण दिनुभएको थियो ।  नेकपाका बर्दिया जिल्ला कार्यदलका सदस्य लालबहादुर श्रेष्ठले कार्यक्रममा आठ स्थानीय तहका ७६ वडाका ४०० टोल कमिटी निर्माण भएको जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!