रु ५० लाखको लागतमा कभर्ड हल बन्दै

Posted on: 22 Jul, 2018

साउन ६, बुटवल (रासस) | रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । 

उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान गरेको कभर्ड हल निर्माण उपभोक्ता समितिका सचिव टीकाबहादुर शाहीले जानकारी दिनुभयो । 

सैनामैना नगरपालिका–३ स्थित पर्सावलमा निर्माणाधीन कभर्ड हलमा ब्याडमिण्डन खेल्नका लागि दुई वटा कोर्ट, टेबुलटेनिस, बास्केटबल र फुटसललगायतका खेल खेल्न सकिने उहाँले बताउनुभयो । डेढ वर्षअघिदेखि निर्माण कार्य शुरु भएको कभर्डहल अझै एक वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

“सैनामैना खेलाडी उत्पादनको क्षेत्र र सबैलाई पायक पर्ने स्थान भएकाले नै यहाँ कभर्डहल निर्माण गर्न लागिएको हो” उपभोक्ता समितिका सचिव शाहीले भन्नुभयो । ८० प्रतिशत काम पूरा भएको कभर्ड हलमा ३०० दर्शक अटाउन सक्ने बताइएको छ । 

कभर्डहल निर्माण भएपछि खेलकुदको क्षेत्रमा परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!