प्रचण्डले बजेट ल्याएर मात्र सरकार छाड्नुहुन्छ: अनन्त

Posted on: 07 Apr, 2017

चैत २५, रुपन्देही । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन "नन्त"ले वर्तमान सरकारले नै बजेट ल्याउने बताउनुभएको छ । 

पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने बताउनुभयो । 

आज बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ को गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले बजेट ल्याएर प्रचण्डले सरकारको नेतृत्व छोड्नु हुनेछ भन्नुभयो । उहाँले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीका जाँदा ठूलो असर नपर्ने बताउनुभयो । 

उहाँले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै निर्वाचनको तयारी करिब अन्तिम अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–“अब निर्वाचन सर्ने कुनै कारण छैन । मतपत्र छापिएको छ, म्यादी प्रहरीको भर्ना भएको छ । अब कसैले चाहेर पनि निर्वाचन रोकिँदैन ।’’ 

मधेसवादी दलहरुका मागलाई समेटेर छिट्टै संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “पुरानो प्रस्ताव फिर्ता हुन्छ । नयाँ दर्ताको तयारी तीन दलका शीर्ष नेताहरुबीच भएको छ ।’’ उक्त प्रस्तावले मधेसवादी दलहरुको मागलाई सम्बोधान गर्ने र निर्वाचन सहजरुपमा हुने बताउनुभयो । 

उहाँले स्थानीय तहको निर्वाचनमा उम्मेदारको छनोटको जिम्मा प्रदेशलाई प्रदान गरेको भन्दै माओवादीले तालमेल गरेर चुनाव लड्ने बताउनुभयो । स्थानीय तहमा तालमेल गर्दा काँग्रेस, एमाले अथवा अरु दलहरुसँग अवस्था हरेर तालमेल गर्ने प्रस्ट पार्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!