रुपन्देहीमा तेस्रोलिङ्गीद्वारा उम्मेदवारी घोषणा

Posted on: 27 May, 2017

जेठ १३, तिलोत्तमा (रुपन्देही) | यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन् । नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी गराइएको छ । 

रुपन्देहीमा संविधानसभाको चुनावमा समेत उम्मेदवार बनेका आनिक राना र सन्तु पुनले ठूला दलले आफूहरुलाई ठाउँ नदिएकाले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी भएको बताउनुभयो । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य यज्ञ पोखरेलले तीनै जनालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताउनुभयो । 

तिलोत्तमा–८मा वडा सदस्यका उम्मेदवार रानाले स्थानीय निकायमा तेस्रोलिङ्गीको अधिकार कागजमा लेखिए पनि व्यावहारिक व्यवस्था गर्नका लागि आफूहरुले उम्मेदवारी दिने बताउनुभयो । 

यसअघि नेपाल जनमुक्ति पार्टीमा आबद्ध रानाले संविधानसभाको चुनावमा रुपन्देही –३ बाट प्रतिप्रस्पर्धा गर्नुभएको थियो । यस्तै स्वतन्त्र रुपमा रुपन्देही–४ मा पुनले पनि संविधानसभाको सदस्यमा चुनाव लड्नुभएको थियो । हाल रुपन्देहीमा तेस्रोलिङ्गी र समलिङ्गीको सङ्ख्या करिब छ हजार रहेको समाजको जिकिर छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!