अति संवेदनशील क्षेत्रमा विशेष सुरक्षा

Posted on: 27 Jun, 2017

असार १३, रुपन्देही । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ । 

बुटवलमा आज पत्रकारसँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले लुम्बिनीका ३४६ मतदानस्थललाई अतिसंवेदनशील र २४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताउनुभयो । यी जिल्लामा १५ हजार प्रहरी परिचालन गरिएको छ । 

प्रत्येक मतदानस्थलमा मतदानअघि, मतदान हँुदै गर्दा र मतदान सकिएपछिको सुरक्षा रणनीति बनाइएको छ । राष्ट्रिय अनुसन्धानका कर्मचारी हरेक मतदानस्थलमा पुग्ने पुडासैनीले बताउनुभयो । 

लुम्बिनीका छ जिल्लाका लागि चार हजार २१२ सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवोधकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले ९३ स्ट्राइकिङ टोली, १४३ मोबाइल र १२ वटा विपद् सुरक्षा टोली परिचालन गरिएको बताउनुभयो । 

निवार्चन बिथोल्न सक्ने आशङ्कामा लुम्बिनी अञ्चलबाट नेपाल कम्युनिष्ट पार्टीका ८६ कार्यकर्तालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये १४ जनालाई मुद्दा चलाइएको छ । लुम्बिनीका ६ जिल्लामा ९१० मतदानस्थल रहेका छन् । 

एक उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिकाबाट दुई हजार ९२२ जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा १३ हजार २४२ जना उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् भने १४ लाख दुई हजार मतदाता रहेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!