लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना

Posted on: 17 Oct, 2020

कात्तिक १, रुपन्देही | लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराउनुभयो । उहाँले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिनुभयो । 

भेरीमा दुई कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार, असोज २५ गते अस्पताल भर्ना हुुनभएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो । सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी  लगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा गएराति नौ बजे मृत्यु भएको हो ।

मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको गएराति १० बजे मृत्यु भएको छ । उहाँलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले  बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले  मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भईरहेको जानकारी दिनुभयो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!