१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि

Posted on: 16 Jul, 2017

साउन १, बुटवल । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ (सि.एन.आई) सँगको सहकार्यमा आगामी पौष ८ देखि १८ गतेसम्म १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवको आयाोजना गर्ने भएको छ । 

संघको आइतबार बसेको २३ औं नियमित बैठकले आयोजनाको मिति तय गरेको हो । संघको बैठकले राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको कामलाई तिव्रता दिन संघका अध्यक्ष दिनेशराज रेग्मीको संयोजकत्वमा ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) को गठन गरेको छ । 

समिति गठन गरेसँगै आयोजनाका कामहरु यथाशिघ्र अघि बढाइने अध्यक्ष रेग्मीले जानकारी गराउनु भएको छ । गठित समितिको सदस्यहरुमा संघका निवर्तमान अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपाध्यक्ष महेश थैव, महासचिव माधबप्रसाद पौडेल, कोषाध्यक्ष दिलिप सापकोटा, सचिव कृष्ण पराजुली, सहकोषाध्यक्ष राजेन्द्र कार्की तथा सचिवालय सदस्य शिव कुमार पाठक रहनु भएको छ । 

संघले यस पटकको आयोजनामा प्रविधि प्रदर्शनीको लागि विशेष महत्वका साथ स्थान दिने बताएको छ । जसका लागि यस अघि नै संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको संयोजकत्वमा प्रविधि व्यवसाय समिति गठन भई काम अघि बढिसकेको छ । यस आयोजनामा स्वदेशी तथा विदेशी गरी करीब ४० वटा प्रविधि प्रदर्शन गर्ने सोंच रहेको संघका महासचिव माधबप्रसाद पौडेलले बताउनु भएको छ । 

स्वदेशी उद्योगको प्रवद्र्धन, बजारको खोजी र औद्योगिक विकासको प्रमुख उद्देश्यका साथ राजधानी बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा रुपन्देही उद्योग संघले बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो र वि.सं.२०७१ सालसम्म संघले १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

यसपटकको आयोजनालाई पृथक, ऐतिहासिक र अर्थपूर्ण बनाउन संघले विभिन्न सरकारी तथा निजी निकाय, प्रतिष्ठान र विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्ने र सबै क्षेत्रबाट सहयोग प्राप्त हुने संघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!